लेकाली फूलहरूको सौगात
*आए पाखा वन चहुरमा फूल लाखौं पलाई
को भन्देला सकल यिनको नाम मीठो मलाई
मेरै धौलागिरि उपरमा छैन मैले चढेको
नेपालीको दिल छुन अझै छैन मैले सकेको।
–राष्ट्रकवि माधव घिमिरे*
लेक–बेँसी गर्नु पहाडी जीवनको अभिन्न अङ्ग हो। उकाली चढ्दै लेकतिर जाँदा ठूला वृक्ष भएका वनजङ्गल ख्याउटिँदै–ख्याउटिँदै पोथ्रापोथ्री मात्र बाँकी रहन्छन्। त्यहाँ धूपी, चिमाल, चुत्रो, भोजपत्र तथा केही बैंसका बुट्यान भेटिन्छन्। त्यसपछि खुला चउर, फराकिला मैदान र बुकीपाटनको नौलो संसार शुरु हुन्छ जहाँ गोठालाहरू भेडा, च्याङ्ग्रा र चौंरी चराइरहेका हुन्छन्। जडीबुटी खन्नेहरू भ्याईनभ्याई पाखा कन्दरा चहार्दछन्। ढुङ्गाका कापकापबाट पुच्छर नभएका लिँडे मुसाहरू खरायोले जस्तै आँखा च्यातेर चियाउँछन्।
परबाट कस्तूरी मृग उफ्री–उफ्री भाग्छन्। थारका स–साना बगाल सेतो भुत्ले गर्दन देखाउँदै टाढै टोलाएर बस्छन्। नाउरका बगाल निश्चिन्तसँग अल्छी मानेर घाम तापिरहन्छन्। गोठालाका सिट्ठी र सुसेली अनि चौंरीका घाँटीमा झुण्डिएका घण्टीका आवाजमा झ्न्–झ्न् गहिरिँदै गरेको लेकाली सन्नाटालाई भोटेकुकुरको एकोहोरो भुकाइले चिर्दछ।
असार, साउन र भदौको यो लेकाली माहोलमा चउर, पाखा र चट्टानहरूका बीचमा एकभन्दा अर्को चहकिला, त्योभन्दा अर्कै चम्किला भएर फुल्न थालेका हजारौं फूलहरू देखिन्छन्। तर, ती फूलमध्ये पाँच प्रतिशतले पनि नेपाली नाम भेट्टाएका छैनन्। त्यसैले राष्ट्रकविको त्यो आह्वान राष्ट्रकै आह्वान हो, र सम्बन्धित क्षेत्रका विशेषज्ञलाई चुनौती पनि।
नेपाली बृहत् शब्दकोशले हिमालनेरका पहाडको माथिल्लो भागलाई लेक भनेर व्याख्या गरेको छ। यहाँको हावापानी र पर्यावरणलाई युरोपको आल्पस्सँग दाँज्न सकिन्छ। आल्पस् पर्वतमा वृक्षरेखा अन्दाजी १८०० मिटरमा कायम छ भने हाम्रो लेकमा ४००० मिटरको उचाइमा छ। हाम्रो हिमरेखाले ५००० मिटरको उचाइ भेट्छ भने युरोपमा २५०० मिटरमै शुरु हुन्छ। वृक्षरेखा र हिमरेखाबीचमा पर्ने लेकाली क्षेत्र युरोपतिर हिमचिप्लेटी खेलिने ठाउँ पनि हो, तर हाम्रोमा त्यो उति सम्भव छैन। किनभने बढी उचाइले गर्दा हावा पातलो हुन्छ, फोक्सोले थेग्दैन। जैविक विविधताको हिसाबमा भने हिमाली क्षेत्रका लेकाली भागमा आल्पस्को भन्दा धेरै गुणा बढी वनस्पतिका प्रजाति र जडिबुटीहरू पाइन्छन्।
हाम्रा लेकाली क्षेत्रहरूको आफ्नै विशेषता पनि छ। मनसुन वर्षा पुग्न नसक्ने हिमाली शृङ्खलाको उत्तरी भागका डोल्पा, मुस्ताङ र मनाङ जस्ता ठाउँको उच्च एवं शुष्क वातावरणमा वेग्लै खालको वनस्पति हुन्छ भने मनसुन झ्रीको पूरा प्रभावमा आउने दक्षिणी भागमा वेग्लै हरियाली र पुष्पबहार छाउँछ। पुष्पबहारको त्यो मेला असार–भदौका ७०–७५ दिनमा सम्पन्न हुन्छ, जतिवेला बिरुवाहरूले फटाफट उम्रेर पालुवा हालेपछि कोपिला फुटेर फूलहरू फक्रन्छन्, परागसेचन हुन्छ, बीउ लाग्छ र बीउ झ्रेर सुरक्षित ठाउँमा पुग्न पनि भ्याउँछ।
उपत्यकाभरी एकै रङका प्रिमुला फूल फुलाउनमा भेडा–च्याङ्ग्राको भूमिका हुन्छ।
त्यसपछि जाडो छल्न कन्दमूल र बीउबिजन लेकमै सुषुप्त अवस्थामा प्रवेश गर्छन्। त्यसको अगावै बिरुवाहरूले आफूलाई चाहिने खाद्यवस्तु र औषधितत्व सञ्चय गरिसकेका हुन्छन्। त्यसैले लेकाली जडीबुटीहरू भदौतिर मात्र खन्न लायक हुन्छन्। अपवादमा यार्सागुम्बा पर्न आउँछ। हिउँ पग्लेको लगत्तै पुतलीका लाभ्रेको जीउबाट पलाएर आउने एक प्रकारको च्याउ (ढुसी प्रजाति) नै यसको मूल तत्व भएकाले बीजावस्थासम्म कुर्नु आवश्यक मानिँदैन। तर, अर्को वर्ष पनि खन्ने हो भने बीजावस्था पुग्न दिन केही क्षेत्रमा बुटी खन्नुहुँदैन।
हाम्रा लेकाली क्षेत्रमा फूल बिरुवाहरूको फुल्ने होडबाजी हेर्नु र देख्नु अलौकिक छ। यस्ता क्षेत्रमा यात्रा गर्दा आज पहेँलो उपत्यका भेटिन्छ भने भोलि अर्को उपत्यका पूरा गुलाबी वा रातोले पोतिएको हुन्छ। कहीँ सेताम्य पाटा हुन्छन् भने कहीँ नीला फूलले ढकमक्क। ती के के फूल हुन्, तिनका नाम के होलान् भनी विचार ग¥यौं भने हामी अन्योलमा पर्दछौं। वनस्पतिविज्ञहरूले लेकाली फूलको प्रारम्भिक फेहरिस्तमा १२२७ प्रजाति ठम्याएका छन्।
सूर्यमुखी फूलको परिवारभित्र पर्ने बुकी, टुकी फूल, कपासे फूल र कुथ तथा ब्रह्मकमलका प्रजाति आदि मिलाएर एकै परिवारका १४० प्रजाति हुन्छन्। कपासे फूलको आकृति विचित्रको हुन्छ। कहीँ नौनीका डल्ला जस्तो, कहीँ सेतो जटाधारी टाउको जस्तो देखिने यो बिरुवा धामी–झँक्रीका प्रियवस्तु हुन्। जनैैपूर्णिमाको मेलामा उनीहरू यी फूल खोजीखोजी टिप्छन्। आखिर आफ्नो चमत्कार देखाउन तिनले पनि अचम्मका सामग्री जोड्नै पर्छ।
लेकाली भेगको उच्च क्षेत्रका पुराना ढुङ्गा र चट्टानमा कहीँ लेउ र झयाउ टम्म छापिएका हुन्छन् भने कतै विभिन्न बिरुवाले आसनी (कुशन) निर्माण गरिदिन्छन्। जस्तै पाषाणभेद (पाखनबेद) परिवारका स–साना वनस्पतिले निकै आकर्षक र रोचक ढङ्गले ती पत्थरलाई सजाइदिएका हुन्छन्। पाषणभेदका विभिन्न प्रजातिको काम नै ढुङ्गा फोर्नु हो। लेकका पत्थरलाई फोरेर माटोमा परिवर्तन गर्नमा यी बिरुवाको महŒवपूर्ण भूमिका हुन्छ। त्यसैले होला यिनका प्रजातिको सङ्ख्या पनि ७४ थरी छन्। धापिलो र मलिलो जग्गामा ‘प्रिमुला’ तथा ‘पेडिकुलारिस’ प्रजातिको बाहुल्य हुन्छ। लेकाली वनस्पतिमा सर्वाधिक लोकप्रिय पुष्प पनि प्रिमुला नै हो।
अरूभन्दा पहिले फुल्ने हुनाले यिनको बाहुल्य नेपाली लेकको विशेषता हो। नेपालमा पाइने यसका लगभग ७० प्रजातिमध्ये ४८ लेकाली क्षेत्रमा पाइन्छन् र तीमध्ये पनि ४१ वटा नेपालमै मात्र हुन्छन्, नेपाल बाहिर हुँदैनन्। आकाशमाथि उठेका यी पर्वतीय क्षेत्रहरू वास्तवमा हावाको सागरमा तैरिएका टापु वा द्वीप हुन् जसको अरू भूभागसँग निकट सम्बन्ध हुँदैन। त्यस्ता भूखण्डमा आ–आफ्नै सृष्टिको लीला चल्ने हुनाले आफ्नै किसिमका स्थानीय प्राणी र वनस्पतिको बाहुल्य हुन्छ। यही कुरा अफिम प्रजातिका हिमाली बिरुवाहरू ‘मेकोनोप्सिस’मा पनि लागू हुन्छ। नेपालमा यसका विभिन्न प्रजातिमध्ये १२ वटा लेकाली क्षेत्रमा पाइन्छन् भने तीमध्ये आठ प्रजाति नेपाल बाहिर पाइँदैनन्। वनस्पति औषधियुक्त यी सबै प्रजातिमा अफिमको नशालु पदार्थ भने हुँदैन।
नेपाली लेकको सबैभन्दा सुन्दर र लोकप्रिय पुष्प छान्नुप¥यो भने ‘मेकोनोप्सिस नेपोलेन्स’लाई छाने हुन्छ। गाढा रातो, प्याजी र गुलाबी रङका विभिन्न फाहा ओढेर फुल्ने यिनका फूलहरू अति नै आकर्षक हुन्छन्। त्यस्तै गरेर नीलो नीरझैं फक्रने ‘ब्ल्यू–पप्पी’ र सुनौलो ‘एलो पप्पी’ विश्वका विभिन्न वनस्पति उद्यानका समेत आकर्षण बनेका छन्।
लेकाली क्षेत्रमा चिराइतो परिवारका १५ प्रजातिका जडिबुटी पनि पाइन्छन् जसमध्ये सर्वाधिक प्रख्यात जडिबुटीलाई शर्मागुरु भनिन्छ। त्यसको जराको लेपले काटेको घाउ तुरुन्त निको गर्छ, घाउ जोडिदिन्छ भन्ने स्थानीय वैद्य, धामी, झँक्री र आम्चीहरूको दाबी छ। अरू ख्यातिप्राप्त जडिबुटीमा पदमचालको वेग्लै स्थान छ। यिनका नौ लेकाली प्रजातिमध्ये गोठालाका अति प्रिय तथा वनस्पतिजगतकै अद्भुत बिरुवा ‘रेयुम नोविल’लाई पूर्वी हिमालको लेकाली ताज माने हुन्छ। खुला उपत्यकामा ४५०० मिटरभन्दा पनि उच्च भूभागको चिसो न चिसो स्याँठ र सिरेटो खप्न सक्ने एक–दुई मिटर अग्लो यो बिरुवा धरहरा जस्तै ठिङ्ग उभिएको टाढैबाट देख्न सकिन्छ।
त्यस्तो उच्च क्षेत्रमा योभन्दा अग्लो अरू बिरुवा प्रायः हुँदैन। यसलाई माछाको जीउमा कत्लाले ढाके जस्तै फेददेखि टुप्पासम्म ठूल्ठूला पातले छोपेका हुन्छन्। एकमाथि अर्को खप्टिएका फेदको पात हरियो र माथिल्ला पातहरू हल्का पहेँला हुन्छन्। तिनै पातभित्र सुरक्षित हुने लाखौं स–साना फूलका झुप्पालाई लेकाली सिरेटोले भेट्दैन र घाम लागेपछि त्यहीँ प्राकृतिक ‘ग्रीन हाउस’ निर्माण हुन्छ। यो बिरुवा पेटको कब्जियत वा आउँमासीमा आम्ची (वैद्य)हरूले प्रयोग गर्ने एक महŒवपूर्ण जडिबुटी पनि हो।
लेकाली क्षेत्रको अर्को विशेषता त्यहाँका पौष्टिक घाँसहरू पनि हुन्। हामीले देख्दा सबैजसो घाँस उस्तै लागे पनि वनस्पतिविद्हरूले एकै परिवार ‘ग्रामिनी’का मात्रै ७० प्रजातिका घाँस भेटेका छन्। मोथेघाँस (साइपेरस)का २३ र ‘कोब्रेसिया’का १६ प्रजाति पनि घाँसकै परिवारभित्र पर्न आउँछन्। वन्यजन्तु तथा लेकाली प्रदेशको मुख्य उत्पादन मासु एवं ऊनका लागि पालिने भेडा, च्याङ्ग्रा र चौंरीका मुख्य आहार यिनै घाँस हुन्। घाँसैमैदानमा जनावरहरू चरिसकेपछि त्यहाँ विभिन्न रङ्गीविरङ्गी बिरुवाहरू मौलाउँदछन्। लेकाली क्षेत्रको हरियो घाँसेमैदानलाई रङ्गीन फूलका पुष्पवाटिकामा परिणत गर्न र त्यहाँ सिर्जना हुने फूलहरूको रङ्गीन दुनियाँलाई बदल्न गोठ, गोठाला, भेडा–च्याङ्ग्रा र चौंरीका बगालको प्रत्यक्ष प्रभाव एवं विशेष भूमिका हुन्छ। तर, अनुसन्धानको कमीले कस्तो गोठ र कस्ता जनावरले के प्रभाव पार्छन् भन्ने यकिन पहिचान हुनसकेको छैन।
नेपाली लेक र लेकाली परिवेश पुष्प–विविधताको अलौकिक सम्पदा हो। फ्रान्सेली प्राध्यापक डोब्रोमेजले युरोपेली आल्पस्को तुलनामा यहाँ १० गुणा बढी पुष्पधन छ भन्ने ठम्याएका छन्। जापानका प्राध्यापक हिडिआकी ओवाको विश्लेषणमा उत्तरी गोलाद्र्धका समशीतोष्ण एवं ध्रुवीय प्रदेशका वनस्पतिबाट हिमालय क्षेत्रमा प्रकृतिले नयाँ–नयाँ प्रजातिहरूको सृष्टि गर्ने गरेको छ। त्यसैले हिमाली लेकमा फूलैफूलको महासागर बन्छ। यही क्षेत्रमा जडिबुटीको अथाह भण्डार पनि छ। तर अनुसन्धानको ढोका खोल्नै बाँकी भएकाले परम्परागत औषधोपचारका जडिबुटीमध्ये एक प्रतिशतले पनि आधुनिक औषधोपचारमा स्थान पाएका छैनन्।
हाम्रा लेकाली घाँसेमैदानहरू पशुपालनका लागि बहुतै उत्पादनशील क्षेत्र हुन्, जो व्यवस्थित विकासको पर्खाइमा छन्। त्यहाँ आठ महिना हिउँ जम्छ र चैत–वैशाखको खडेरीमा त्यही हिउँ पग्लेर गाउँबस्तीलाई पानी आपूर्ति गर्दछ। वर्तमान विश्वको तापमान वृद्धिको प्रत्यक्ष अवलोकन वा अध्ययनमा लेकाली क्षेत्रको ठूलो योगदान हुनसक्छ। जलवायु परिवर्तनको पहिलो प्रहार थाप्ने अचानो पनि हाम्रै हिमाली लेक हुनआउने कुरामा शङ्का छैन।
सम्झनामा बाङदेल
विजयादशमीले धेरैका निधारमा टीका लगाएर जान्छ तर सबै विजयादशमीले सबैको निधारमा टीका लगाइदिँदैन। यस्तै एउटा घटना थियो— २९ असोज २०५९ को दशमीको। आमाको हातको टीका थापेपछि टीका र शुभकामनाका लागि आफ्नै छिमेक सानेपामा बस्ने प्रसिद्ध कलाकार लैनसिंह बाङदेलको ढोकाभित्र छिरेँ। निन्याउरो मुन्टो लिएर केही मानिसहरू मूर्तिझैं टक्क अडिरहेका देखेँ। थाहा भयो, उहाँ त भर्खरै बित्नुभएको रहेछ। यो लोक छोडेर परलोक हुनुभएछ।
केहीबेर त्यहाँ बस्दा उहाँकी छोरी डिनासँग मूर्तिको विषयमा कुराकानी भयो। काष्ठमण्डपको भाजु देवलभित्रबाट हराएको मूर्ति कुन देवताको होला भन्ने विषयमा दुईचार दिन पहिले मात्र बाङदेलसँग छलफल भएको थियो। छोरी डिनासँग कुरा गर्दा किन हो मेरो मनमा बाङदेल बित्नुभयो भन्ने हेक्का नै रहेन। म झ्सङ्ग भएँ। एक महान् कलाकारको शरीर मूर्तिझैं शान्त थियो। अनुहारमा उज्यालो एक अमूर्त मुस्कान थियो। मानिसहरू आउँदै जाँदै गरे। म पनि विस्तारै घर फर्कें।
१ वैशाख २०३६ मा पहिलो पल्ट उहाँको घरमा छिरेको थिएँ। त्यसवेला उहाँ नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको कुलपति र म प्राज्ञपरिषद्को सदस्य नियुक्त भएको रेडियो नेपालमा सुनेलगत्तै उहाँकहाँ गएँ। चिनाजानी थिएन, परिचय दिएँ र त्यसपछि २०४६ चैतसम्म प्राज्ञपरिषद्मा सँगै उठबस भयो। मेरा प्रत्येक पाइलामा उहाँले साथ दिनुभएको थियो।
त्यतिवेला म मकालु–वरुण क्षेत्रको संरक्षणमा जुटेको थिएँ। त्यसकै सिलसिलामा मकालु हिमालको हरियो काख साल्दीमा खर्कमा एक उच्चस्तरीय संरक्षण गोष्ठीको आयोजना गरिएको थियो। त्यसमा कुलपति लैनसिंह बाङदेल पनि हाम्रा साथमा हुनुहुन्थ्यो। १६–१८ नोभेम्बर १९८५ का ती दिन आकाश नीलो थियो, स्वच्छ पानीको झ्रना खसिरहेको थियो, भेडीगोठहरू उठिसकेका थिए तर हरियाली ओइलाएको थिएन। लेकाली चिमालहरू फुल्दै थिए। सिम्रिक रातो र अर्को पहेँलो प्रजातिको खचडा बिरुवा भेटियो। शायद ब्रह्माजी नयाँ गुराँस प्रजातिको सिर्जनामा लागेका रहेछन्। रङविरङका अरू फूलहरूसँग परिचित गराएँ। सबै हेरेपछि उहाँले भन्नुभयो, “यो सिर्जनाको थलो हो। यसलाई संरक्षण गर्नुपर्छ हाम्रो भावी सन्ततिका लागि।”
यत्तिकैमा लेकाली रङमा उहाँ आफ्नो मन खेलाउन थाल्नुभयो। मलाई लाग्यो, बाङदेलको कलाकार मनमा रङ खेल्न थालेछ। एकान्तको त्यो वातावरणमा उहाँलाई एक्लै छोडेर पालतिर फर्कें।
– हिमाल खबरपत्रिका, १६ असाेज–१५ कात्तिक २०६७ बाट