‘नेपाली सङ्गीतको विकासक्रम’ पुस्तक बिमोचन
सहप्राध्यापक एवं संगीतज्ञ मनोहर गोपाल गुर्वाचार्यद्धारा लिखित शोधग्रन्थ (पुस्तक) ‘नेपाली सङ्गीतको विकासक्रम’ बिमोचन भएको छ। बरिष्ठ संस्कृतिविद् वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा उक्त पुस्तकको बिमोचन तथा लोकार्पण गरेका हुन्।
पुस्तकमा ललितपुर, काठमाडौं र भक्तपुरका दफा र मृदङ्ग भजन मण्डलहरुमा गाउँदै आएका प्राचीन तथा मौलिक गीत सङ्गीतलाई समेटिएको छ। त्यसबाहेक विगत ४ सय वर्षदेखि निरन्तर रुपमा ज्येष्ठ पूर्णिमाका दिन मंगलबजार कार्त्तिक डबलीमा गाउँदै आएका कृष्णभक्त कवि राजा सिद्धिनरसिंह मल्लाका गीतहरूसमेत पुस्तकमा समावेस छन्।
यस्तै विश्व प्रसिद्ध चर्या नृत्य नेपालमा श्रृजना भएको तथ्य आठौं शताब्दिको अन्त्यतिर लेखिएको ‘‘हेबज्रतन्त्र’’ ग्रन्थको आधार पनि प्रस्तुत गरिएको छ। पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ संस्कृतिविद् शताब्दी पुरुष जोशीले यस्तो किसिमको पुस्तकले देशभित्र सङ्गीतको विधालाई फडको मार्न ठूलो मद्दत पुर्याउने बताए।
कार्यक्रममा लेखक गुर्वाचार्यले काठमाडौं उपत्यकाभित्र रहेको प्रचिन सङ्गीतलाई अनुसन्धान गरी पुस्तकमा समेटने प्रयास गरिएको बताए। करिब १ हजार वर्ष पहिला नै विश्वबाट लोप भइसकेका ‘‘जातिगान’’का क्रियात्मक स्वरुप र शैली जस्ता अमूल्य सांस्कृतिक धरोहरहरू अहिलेपनि नेपाली समुदायमा संरक्षित भई व्यवहारमा आइरहेकाले त्यस्ता सङ्गीतलाई पुस्तकमा समेटिएको छ। यसबाट परम्परागत सङ्गीतको क्षेत्रमा ठूलो उपलब्धि हुने र देशको छवि विश्वसामु उजागर गर्न सफल हुने विश्वास समेत गरिएको छ।