आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत
यमपञ्चकको पाँचौं दिन आज भाइटीका, दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। दिदीबहिनीले दाजुभाइलाई श्रद्धा र आस्थाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई भाइटीका मनाइँदैछ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। भाइटीकाको लागि आज बिहान ११ः३७ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायका समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले बताए। उनका अनुसार ११ः३७ बजे उत्तम साइत रहे पनि दिनभर टीका लगाउन कुनै बाधा भने छैन।
“सकेसम्म मध्यान्हकालमै लगाउने हो। त्यो नै उपयुक्त बेला हो। केहीगरि नभ्याउँदा त्यसपछि लगाउँदा पनि कुनै बाधा भने छैन”, गौतमले हिमालखबरसँग भने।
मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष गौतमले बताए।
आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मुल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले बताए।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।
दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गर्ने गरिन्छ। यो वर्ष बिहान ५ देखि साँझ ५ बजेसम्म मन्दिर खुला गरिने काठमाडौं महानगरपालिकाले जनाएको छ। महानगर प्रमुख विद्यासुन्दर शाक्यले भोलि २ मंसिरमा पनि मन्दिर खुला गर्ने जनाएका छन्।
यसैगरी, जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ।
भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ।
प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले बताए। आजैदेखि नेपाल संवत् ११४१ शुरू भएको छ।