सुनसरी र झापामा भएका दुर्घटनामा ४ को मृत्यु, २० घाइते
धरान उपमहानगरपालिका–८ पानीटंकीमा शुक्रबार राति कार र ट्याक्टर ठोकिएर भएको दुर्घटनामा ३ को मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन्।
राति सवा ११ बजे कोशी राजमार्गमा इटहरीतर्फ आउँदै गरेको मे१त ६६९२ नम्बरको ट्याक्टरलाई सोही दिशाबाट आउँदै गरेको बा२०च ४०७६ नम्बरको कारले ओभरटेक गर्ने क्रममा आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
ट्याक्टर अनियन्त्रित भई नालीमा पल्टेको थियो भने कार को१ख ४७६१ नम्बरको गुड्दै गरेको बसमा गएर जुधेको प्रहरीले बताएको छ ।
दुर्घटनामा कारमा सवार चालक मोरङ सुन्दरहरैंचा नगरपालिका–४ का ४५ वर्षीय गोविन्द बस्नेत, इटहरी उपमहानगरपालिका–४ का ३० वर्षीय अनिल श्रेष्ठ, धनकुटाका २७ वर्षीय जनक बुढाथोकी र २८ वर्षीय मदन लिम्बु गम्भीर घाइते भएका थिए ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा श्रेष्ठ, बुढाथोकी र लिम्बुको मृत्यु भएको प्रहरीले बताएको छ । चालक बस्नेतलाई थप उपचारका लागि विराटनगर ल्याइएको छ ।
ट्याक्टरमा सवार झापा चन्द्रगढी नगरपालिका–६ का दिलकुमार राजवंशी, भद्रपुर नगरपालिका–८ का कृष्ण राजवंशी, मोरङ रंगेली नगरपालिका–२ का विनोद कार्कीको धरानमा उपचार भइरहेको छ । यस्तै बसमा सवार धरान–१८ निवासी चन्द्रा राई, धरान–११ की प्रभा राई, धरान १७ बस्ने शुक्रीकला राई, शारदा राई र पवित्रा विष्ट पनि घाइते छन् ।
उद्योगबाट काम सकेर फर्किएको बसमा रहेका घाइते सबै महिला मजदुर हुन् । तीनवटै सवारी साधन र ट्याक्टर तथा बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै झापाको मेचीनगर नगरपालिका १२ कालीझोडामा शुक्रवार राति बोलेरो जीपको ठक्करले १ को मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा राति ८ बजे पश्चिमतर्फ आउँदै गरेको मे१ज २८११ नम्बरको बोलेरो जीपले मागेर जिबिका चलाउँदै आएका करीब ७५ वर्षीय नाम नखुलेका बृद्धलाई ठक्कर दिएको थियो ।
अनियन्त्रित भएको सोही जीपले अर्को मे१ज १२०९ नम्बरको बोलेरो जीपलाई ठक्कर दिएको थियो ।
पैदलयात्री बृद्धको मृत्यु हुनुका साथै दुर्घटनामा मे१ज १२०९ नम्बरको बोलेरोमा सवार ११ जना घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले बताएको छ । दुर्घटना गराउने जीपका चालक फरार छन् भने अर्को जीपका चालक शिवसताक्षी नगरपालिका १ का युवराज शंकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।