सीमा नाकाबाटै भारतीयद्वारा फिर्ता पठाइए नेपाली
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै जाने यात्रुलाई शनिबार भारतीय पक्षले सीमानाकाबाट फिर्ता पठाएको छ। भारतीय सीमा सुरक्षा बलका जवानहरूले मजदुरी गर्न जाने नेपालीहरूलाई सीमा नाकाबाटै फिर्ता पठाएको हो।
यसअघि आधार कार्डका आधारमा नेपाली सीमा नाका हुँदै भारततर्फ जाँदै आएका थिए। जानकारी नै नदिई सीमा नाका बन्द गरिएपछि सीमा क्षेत्रमा पुगेका नेपालीहरू फर्कन बाध्य भएका छन्। भारतीय स्वास्थ्यकर्मीको टोली र अध्यागमनका कर्मचारीको टोली नआउँदा सीमा क्षेत्रमा नेपालीलाई प्रवेश गर्न नदिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक वीरसिंह महताले बताए।
“व्यक्तिगत रूपमा बुझ्दा मेडिकल र अध्यागमनको टोली नआएकाले प्रवेश नदिइएको भन्ने कुरा बुझिएको छ”, उनले भने, “सीमानाका प्रवेशमा नेपालीहरूलाई प्रवेश गर्न नदिएकोबारे आधिकारिक जानकारी भने प्राप्त हुनसकेको छैन, मेडिकल र अध्यागमनको टोली आजसम्म आए प्रवेश दिइने भन्ने छ, पछि थाहा हुन्छ।”
उनका अनुसार जानकारी नपाएर भारतीय सीमा क्षेत्र भएर फर्कने नेपालीहरूको सङ्ख्या ३० देखि ५० जना जति रहेको छ। दैनिक मजदुरी, स्वास्थ्योपचार र पेन्सन बुझ्नका लागि नेपालीहरू सीमा नाका हुँदै भारततर्फ जाने गरेका छन्।