एनआईसी एशियाको मोबाइल ब्यांकिङबाट दक्षिणा दिँदा रू.१०० बोनस
डिजिटल ब्यांकिङ क्षेत्रमा अग्रणी स्थान बनाइरहेको एनआईसी एशिया ब्यांकले डिजिटल रकम स्थानान्तरणलाई प्रोत्साहन गर्न भाईटीकाको उपलक्ष्यमा डिजिटल दक्षिणा योजना ल्याएको छ। ‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको ब्यांकले भाईटीकामा ग्राहकले आफ्ना दिदीबहिनीलाई दिने दक्षिणा ब्यांकको मोबाइल ब्यांकिङमार्फत् प्रदान गरेमा दक्षिणा रकममा थप रू.१०० ब्यांकले थपिदिने भएको छ।
ब्यांकमा आवद्ध ग्राहकका लागि ल्याइएको यो योजनामा सहभागी हुन न्यूनतम रू. ५०० स्थानान्तरण गर्नुपर्नेछ। यस योजना अवधिभर ब्यांकको तर्फबाट एक जनाले अधिकतम रू. ३०० सम्म दक्षिणा प्राप्त गर्न सक्ने ब्यांकले जनाएको छ। उक्त रकम ब्यांकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहकको ब्यांक खातामा जम्मा गर्नेछ।
यस योजनाअन्तर्गत मोबाइल ब्यांकिङ एप प्रयोग गरी दक्षिणा दिँदा ब्यांकका ग्राहकले एपमा रहेको ‘डिजिटल दक्षिणा’ ट्याप गरी आफूले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा रिमार्क्समा भाईटीका जस्ता विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने ब्यांकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताए।
भाईटीकाको दिन दिदीबहिनीहरूको हातबाट टीका ग्रहण गरेपछि दाजुभाईले सगुनस्वरूप दक्षिणा दिने प्रचलन रहिआएकोमा डिजिटल माध्यमको प्रयोग गरी दक्षिणा स्थानान्तरण गर्दा डिजिटल ब्यांकिङ प्रवर्द्धनमा समेत सघाउ पुग्ने ब्यांकको विश्वास छ।
साथै ब्यांकले ल्याएको ‘डिजिटल उत्सव’ योजनामा ग्राहकले १ कात्तिकदेखि ५ मंसिरसम्म विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत् किनमेल गरी मोबाइल ब्यांकिङ तथा कार्डबाट डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्ने ब्यांकले जनाएको छ।
एनआईसी एशिया ब्यांकको मुलुकभर ३२७ शाखा कार्यालय, ४७० एटीएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ७३ वटा शाखारहित ब्यांकिङमार्फत् ब्यांकिङ सेवा प्रदान गरिरहेको छ।