राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक मंसीर दोस्रो साता नियुक्त हुने
नेपाल क्रिकेट संघ (क्यान) ले मंसीर दोस्रो सातासम्ममा नयाँ मुख्य प्रशिक्षक नियुक्त गर्ने भएको छ। त्यसका लागि संभावित १२ मुख्य प्रशिक्षकको शनिबार नै अन्तरवार्ता लिइसकेको छ।
क्यानले गएको १८ भदौमा २१ दिनको समयसीमा राखेर मुख्य प्रशिक्षकलगायत विभिन्न पदमा दरखास्त आह्वान गरेको थियो। मुख्य प्रशिक्षका लागि ७२ जनाले दरखास्त दिएको मुख्य प्रशिक्षक छनौट समितिले जनाएको छ।
तीमध्ये पहिलो चरणमा २५ जना ‘सर्टलिष्ट’ गरेर दोस्रो चरणमा १२ जनाको अन्तरवार्ता लिएको हो। अब ती १२ जनामध्येबाटै प्रशिक्षक नियुक्ति हुनेछ। उनीहरुको नाम भने क्यानले सार्वजनिक गरेको छैन।
क्यानले मुख्य प्रशिक्षक छनौट गर्नका लागि पाँच सदस्सीय समिति गठन गरेको थियो। समितिमा तीन जना क्यानबाट तथा एक जना आईसीसी र एक जना स्वतन्त्र विज्ञ छन्।
यसअघि क्यान बोर्ड बैठकले १० मंसीरबाट राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण गर्ने जनाएको थियो। दोस्रो हप्ता नै नयाँ प्रशिक्षक नियुक्त भए बन्द प्रशिक्षण नयाँ प्रशिक्षकबाटै हुनेछ।
गत फेब्रुअरीमा नेपालमा भएको विश्वकप लिग २ अन्तर्गतको घरेलु सिरिजपछि तत्कालीन मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका थिए। भारतीय नागरिक पटवालको राजीनामापछि मुख्य प्रशिक्षक पद खाली रहँदै आएको थियो।
त्यसअघि भने जगत टमाटा मुख्य प्रशिक्षक थिए। उनी हाल राखेपका क्रिकेट प्रशिक्षक छन्। तर, क्यानले विदेशीलाई नै नेपाली क्रिकेटको जिम्मेवारी दिने जनाइएको छ।