भारतले आतंकवादी संगठनहरुको गठबन्धन बनाइरहेको पाकिस्तानको आरोप
आफ्नो देशविरुद्ध भारतले आतंकवादी संगठनहरुको गठबन्धन बनाइरहेको पाकिस्तानले आरोप लगाएको छ। जम्मु काश्मीरस्थित लाइन अफ कन्ट्रोल (एलओसी) मा गोली हानहान भएको भोलिपल्ट नै पाकिस्तानले यस्तो आरोप लगाएको हो।
इस्लामाबादमा शनिबार पत्रकार सम्मेलन गर्दै पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशी र पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल बाबर इफ्तिखारले भारतका कारण पाकिस्तानमा आतंकवादी गतिविधि हुने गरेको दाबी गरे। ती गतिविधिमा भारत र उसका खुफिया एजेन्सी संलग्न रहेको आफूहरुसँग प्रमाणसमेत भएको उनीहरुले बताए।
पाकिस्तानी विदेश मन्त्रालयमा एक घन्टा गरिएको पत्रकार सम्मेलनमा विदेश मन्त्री र सेनाका प्रवक्ताले विभिन्न दस्तावेजहरु प्रस्तुत गर्दै भारत पाकिस्तानका कुन कुन क्षेत्रमा विभिन्न गिरोहबाट आतंकवादी गतिविधि गरिरहेको छ भन्ने समेत बताएका थिए। विदेशमन्त्री कुरैशीले भने, “हामीलाई प्रायः प्रमाण पेस गर्न भनिन्छ। आज हामीले सबै सबुत जम्मा गरेर अन्तराष्ट्रियस्तरमा भारतको लक्ष्यतर्फ ध्यान दिलाउन चाहन्छौँ।”
उनले पत्रकार सम्मेलनको शुरुमा नै पाकिस्तानले आतंकवादीहरुका कारण पाकिस्तानले धेरै ठूलो क्षति बेहोरिसकेको बताए। यसलाई अन्तरराष्ट्रियस्तरमा पनि स्वीकारिएको उनको भनाइ थियो।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि शनिबार राति ट्विट गर्दै ती आरोप दोहो¥याएका छन्। यससम्बन्धमा अन्तराष्ट्रिय समुदायले भारतमाथि दबाव बनाइराख्नुपर्ने पनि उनले उल्लेख गरेका छन्। यसबारे प्रधानमन्त्री कार्यालयले अरु पनि ट्विट गरेको छ।
पाकिस्तानले यसअघि पनि यस्तै प्रकारका आरोपहरु लगाउने गरेको थियो। ती सबै आरोप भारतले खारेज गर्दै आएको छ। पछिल्लोपटक एलओसीमा गोली हानाहान हुँदा दुवैतर्फका कम्तीमा सात सैनिकको मृत्यु भएको भोलिपल्टै पाकिस्तानले यो आरोप दोहो¥याएको हो।
शुक्रबार भएको भिडन्तमा आफ्ना तीन सैनिकसहित ६ जनाको मृत्यु भएको भारतीय सेनाले जनाएको छ। उता पाकिस्तानले आफ्ना चार सैनिकसहित आठ जनाको मृत्यु भएको जनाएको छ।
-बीबीसी हिन्दीबाट