योगेश भट्टराई भन्छन्- नेपालको पर्यटन क्षेत्रले गति लिन थाल्यो
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गति लिन थालेको बताएका छन्। आमदब्लम हिमालको सफल आरोहण गरी काठमाडौं फर्किएका कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्ला एम अलथानीसहितको टोलीसँगको भेटपछि उनले यस्तो बताएका हुन्।
विश्वमा कोभिड संक्रमणको जोखिम कायमै रहेपनि छिमेकी मुलुकबाट उच्च पदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा आउनु पर्यटन क्षेत्र विस्तारै आफ्नो गतिमा अगाडी बढ्न थालेको संकेत भएको उनले गरे।
पछिल्लो समय सरकारले पर्यटन क्षेत्र खुला गर्ने निर्णय गरेसँगै अहिले विदेशी पर्यटकहरुको आगमनपछि बढ्दै गएको उनले बताए। राजकुमार शेख मोहम्मद आइतबार आफ्नो देश फर्किने जानकारी पनि उनले दिए।
राजकुमार शेख मोहम्मदले लामो समयदेखि आफु नेपाल भ्रमणमा आइरहेको उल्लेख गर्दै छिट्टै आफु अर्को भ्रमणमा आउने विश्वास दिलाए। नेपालका हिमालय र गाउँहरु आफुलाई धेरै मनपर्ने गरेको उनले बताए। उनले हरेक वर्ष एक पटक नेपालको भ्रमणमा आफू आउने गरेको पनि बताए।
राजकुमारसहितको टोलीले बुधबार आमदब्लम हिमालको सफल आरोहण गरेको हो। कोरोना महामारीका कारण विश्वको पर्यटन क्षेत्र धराशयी बनेका बेला विदेशी ‘हाइ प्रोफाइल’ले नेपालका हिमाल आरोहण गरेको यो दोस्रो हो। यसअघि बहराइनका राजकुमार सम्मिलित १८ जनाको टोलीले लोबुचे (६,१४५ मिटर) र मनास्लु (८,१६३ मिटर) हिमाल आरोहण गरेको गरेका छन्।
कतारका राजकुमारको टोलीको नेतृत्व अमेरिकी गाइड ग्यारेट सी म्याडसनले गरेका थिए। उक्त टोलीमा पाँच नेपाली गाइडसहित १२ जना सहभागी थिए।