कोशीको बीच बगरमा रेष्टुरेन्ट सञ्चालन
कोशी नदीको बीच बगरमा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको छ। कोशीको भंगालोमा डुङ्गा चढेर मात्रै पुग्न सकिने बगरमा कुनैपनि संरचना नबनाई रेष्टुरेन्ट चलाइएको हो।
चारैतिर पानी र बालुवाको बगरको बिचमा खुल्ला आकाशमुनी रेष्टुरेन्ट सञ्चालनको नयाँ प्रयोग सम्भवतः नेपालमै पहिलो मानिएको छ। सुनसरी बराहक्षेत्र नगरपालिका–९ प्रकाशपुरस्थित कोशी किनारबाट डुङ्गा चढाएर बगरको बीचमा पाहुनालाई जम्मा गरी तिहारका अवसरमा खुल्ला कार्यक्रमको शुरूआत गरिएको छ। ओशिश इभेन्ट अर्गनाइजर नामक संस्थाका युवाहरूले सम्भावना अध्ययन गरी ‘आइलेण्ड क्याम्पिङ’ को शुभारम्भ गरेका हुन्।
“हामीले टिभी र भिडिओमा देखेजस्तो बगरको बीचमा यहाँपनि खुल्ला कार्यक्रम गर्न सकिने रहेछ” आयोजकमध्येका एक चक्र तिम्सिनाले भने। कोशीको बगरलाई कसैले पनि सदुपयोग गर्न नसकेको अवस्थामा यसखाले कार्यक्रमले पर्यटक आकर्शित हुनेमा नगरपालिका पनि आशावादी देखिएको छ। उपमेयर कमला मगरले ‘आइलेण्ड क्याम्पिङ’को उद्घाटन गर्दै कोशीको बगरमा नेपालकै नमूना कार्यक्रमहरू गर्न सकिने बताइन्। युवाहरूले शहरिया जनजीवनमा रहेकाहरूलाई बगरमा कार्यक्रम लिएर आउन आह्वान गरेका छन्।
विवाह, ब्रतबन्ध, जन्म तथा विवाह उत्सवका अवसरमा शहरका पार्टीप्यालेसमा भन्दा बगरको कार्यक्रमले सन्तुष्टि दिने तिम्सिना बनाउँछन्। कोशीको पूर्वी भङ्गालो कटेपछिको बगर मानवविहीन सुनसान छ। पश्चिम तर्फपनि भङ्गालो नै भएकाले माछा मार्नेहरू कहिलेकाहीँ डुंगामा मात्रै आउँछन्। आँखाले भ्याएसम्म मानिस र घर देखिदैन।
वातावरणलाई प्रभाव नपार्न आयोजकले खाद्य परिकार बाहिरबाटै बनाएर लैजान्छन्। जाडोयाम भएकाले आगो ताप्ने र माछा, मासु पोलेर खाने व्यवस्था भने बगरमै गरिएको छ। बगरलाई कुनैपनि संस्थाले बैठकस्थलका रूपमा पनि प्रयोग गर्न सक्ने तिम्सिना बताउँछन्।
बगरमा अस्थायी मञ्च जस्तो बनाएर रंगीन कपडाले ढाकेका प्लाष्टिकका कुर्सि र बास बस्न चाहनेका लागि टेन्टको व्यवस्था गरिएको छ। नदीको बीच भाग पर्ने भएकाले वन्यजन्तुको डरपनि कम छ।
नदी किनारमा कहिलेकाहीँ जंगली हात्ती र अर्ना पुगेपनि बगरमा हत्तपत्त पुग्दैनन्। सुख्खा मौसममा बाढीको सम्भावना नभएकाले बगर देखाएर पाहुना आकर्षित गर्ने कार्यक्रम ल्याइएको आयोजकको भनाइ छ। कोशी नदी छेउमा हेमस्टे तथा रेष्टुरेन्ट थालेका प्रेम अधिकारीका अनुसार, शहरको कोलाहलबाट अलग कोशी किनारमा आउन चाहनेहरू धेरै भएपनि बासको असुबिधा हुने भएकाले यहाँ मानिसको चहलपहल कम हुन्छ।
कोशी नदीमा जलशयर तथा बसार्इं सरेर आउने चरा हेर्न मात्रै वर्षेनी ठूलो संख्यामा विदेशी पर्यटक आउने गर्छन्। कोशी आसपास विदेशीलाई मात्रै लक्षित गरेर बनाइएका थोरै रेष्टुरेन्ट छन्। आन्तरिक पर्यटकलाई लक्षित गरेर होटलहरू सञ्चालन गरिएको पाइँदैन। कोशी अवलोकन गर्नेलाई लक्षित गरेर प्रदेश–१ सरकारले प्रकाशपुरमा भ्युटावर निर्माण थालेको छ। स्थानीयलाई होमस्टे व्यवस्थित गर्न पनि प्रदेश सरकारले लगानी गर्दै आएको छ।