कोरोनाबारे सचेतना जगाउँदै घरदैलोमा पुगे कांग्रेस नेता जोशी
कोरोना रोकथाम तथा नियन्त्रणमा सचेतना जगाउन भन्दै नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले घरदैलो कार्यक्रम गरेका छन्। नेता जोशीले काठमाडौंको क्षेत्र नं. ८ मा कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीका सम्बन्धमा सचेतना फैलाउन घरदैलो कार्यक्रममा निस्किएका हुन्।
विभिन्न चिकित्सकसहितको टोली बनाएर नेता जोशीले केही दिनदेखि घरदैलो कार्यक्रम आयोजना गर्दै आएका छन्। काठमाडौं क्षेत्र नं. ८ आफ्नो निर्वाचन क्षेत्र पनि भएकाले सचेतनाका लागि आफ्नो दायित्व पूरा गर्न घरदैलो कार्यक्रम आयोजना गरिएको नेता जोशिले बताए।
जनताको घरदैलोमा गएर कोरोना संक्रमणबाट कसरी बच्ने, मास्क कसरी लगाउने, भौतिक दूरी कायम गर्ने, नियमित हात धुने, स्यानिटाइज गर्ने लगायतका विषयमा जानकारी गराएको नेता जोशीले बताए।
कांग्रेस नेता जोशीसँगै विभिन्न चिकित्सकहरू पनि घरदैलो कार्यक्रममा सहभागिता जनाउँदै आएका छन्। शनिबार घरदैलो कार्यक्रममा सहभागी भएका वीर अस्पतालका चिकित्सक डा. भुपेन्द्र बस्नेतले कोरोनाबाट कसरी बच्न सकिन्छ, के कस्तो समस्या आउँछ, मास्क लगाउन किन जरुरी छ, हात धुन किन जरुरी छ भन्ने कुरामा जनचेतना फैलाउन टोलटोलमा पुगेको बताए।
घरदैलो कार्यक्रमका क्रममा प्रत्येक घरमा मास्क वितरण समेत गरिएको छ। यस्तै कुनैपनि समस्या आएमा चिकित्सकलाई सिधै फोन गरी आवस्यक सुझाव र सल्लाह लिने व्यवस्था मिलाइएको पनि डा. बस्नेतले बताए।