झापामा थ्रेसरमा च्यापिएर महिलाको मृत्यु
धान झार्ने क्रममा थ्रेसरमा च्यापिँदा शनिबार बिहान झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–६ बालुवानीका ४७ वर्षीया लीलादेवी चापागाईं रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
सोही वडाका भूपाल प्रसाईंको मे १ त ६६०१ नम्बरको ट्याक्टरमा थ्रेसर जडान गरी धान झारिरहेको बेला भूईमा झरेको धानको बाला टिप्ने क्रममा फितामा सारी बेरिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार शुरूमा महिलाको कपडा र कपाल तानेपछि थ्रेसरले उनको शरीरलाई पनि भित्रै तानेको थियो। मृतक महिलाको शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।