काठ र बँदेलको बच्चा चोरीनिकासीमा संलग्न तीन अभियुक्त पक्राउ
चितवन राष्ट्रिय निकुञ्जमा सिसौको काठ र बँदेलको बच्चा चोरीनिकासी गरेका तीन फरार अभियुक्त पक्राउ परेका छन्। उनीहरूलाई भरतपुर महानगरपालिकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकामा भरतपुर–२४ बस्ने निमा भन्ने नेमा घलान, भरतपुर–२८ का फुर्के कुमाल भन्ने गणेश कुमाल र सोही ठाउँका गिर्जा कुमाल भन्ने प्रितम कुमाल रहेका छन्।
घलानलाई मध्यवर्ती क्षेत्रबाट अवैध रूपमा बँदेलको बच्चा चोरी निकास गरेको अभियोगमा रू. २० हजार जरिवाना र ६० दिन कैद फैसला भएको छ। १९ जेठ २०७४ मा दायर मुद्दामा ३० असार २०७६ मा फैसला भएको थियो। मुद्दाका चारजना अभियुक्तमध्ये उनी फरार रहँदै आएका थिए। उनलाई शुक्रबार पक्राउ गरिएको हो।
त्यसैगरी, कुमालद्वयलाई अवैधरूपमा सिसौको काठ चोरीनिकासी गरेको अभियोगमा ३४ हजार ४२९ जरिवाना र ३० दिन कैद फैसला भएको थियो। १९ असोज २०७३ मा दायर मुद्दामा २६ असार २०७६ फैसला भएको थियो।
मुद्दाका सातजना अभियुक्तमध्ये चारजना फरार रहेका थिए। तीमध्ये दुईजना पक्राउ परेका हुन्। उनीहरूलाई १८ कात्तिकमा पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई जिल्ला कारागार भरतपुर चलान गरिएको छ।