उद्योगी–व्यवसायीको लक्ष्मीपूजा, कसले कसरी गर्दैछन् ?
धनतेरसका दिन (शुक्रबार) किनेको सुन तथा चाँदीको सिक्का राखेर लक्ष्मीपूजा गर्ने चलन पनि नेपाली समुदायमा छ। शनिबार (२९ कात्तिकमा) देशैभर धनधान्यकी देवी भनिने लक्ष्मीको पूजा धुमधामका साथ हुँदैछ। सबै नेपालीले आ–आफ्नो घरमा क्षमता अनुसार लक्ष्मीपूजा गर्छन्। घर, चोक, आँगन सफा गर्ने, झिलिमिली बत्ति बाल्ने हुनाले तिहारलाई उज्यालको पर्व पनि भनिन्छ। जुन घरमा उज्यालो हुन्छ सोही घरमा लक्ष्मी आउँछिन भन्ने मान्यता रहिआएकोले पनि तिहारमा घर उज्यालो पार्ने र सरसफाई गर्ने गरिन्छ।
यो वर्षको तिहारमा कोरोना कहरका कारण विगतका वर्षहरूको तुलनामा रमझम, भीडभाड र आफन्तसँगको भेटघाट गर्ने, भोजभतेर गर्ने र देउसी, भैलो खेलेर रमाउने माहोल खुम्चिएको छ। तर, कोरोना कहरकै बीचमा पनि रीति र संस्कृति अनुसार पर्व मनाउनुका साथै हरेक घरमा लक्ष्मीको पूजा गर्ने कामलाई भने सबैले निरन्तरता दिने देखिएको छ।
उद्योगी, व्यवसायीले समेत तिहारलाई विशेष रूपमा मनाउने गर्दछन्। खासगरी लक्ष्मीपूजालाई । वर्षभरीको व्यापार व्यवसाय राम्रो होस् भनेर कामना गर्ने र धनकी देवी लक्ष्मीको पूजाआजा गर्ने प्रचलन छ। यसवर्षको लक्ष्मीपूजा उद्योगी व्यवसायीले कसरी गर्दैछन् त ?
परिवारभित्रै सीमित
लक्ष्मीपूजा हामी उद्योगी व्यवसायीको लागि विशेष हुने गरेको छ। वर्षेनी लक्ष्मीपूजालाई विशेष महत्व दिएर मनाउने गरिन्छ। यो वर्ष भने कोरोना कहरका कारण परिवारभित्रै बसेर पूजाआजा गर्ने र भेटघाट भने बन्द नै गर्नुपर्ने अवस्था छ।
यो वर्ष संक्रमणबाट बच्नुपर्ने र अरुलाई पनि बचाउनुपर्ने भएकोले तोकिएको समाजिक दूरी कायम र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर तिहार मनानुपर्छ।
उद्योगी, व्यवसायीको विशेष र महत्वपूर्ण काम आ–आफ्नो कार्यालयसँगै घरघरमा पूजाआजा हुन्छ। त्यसपछि शुभकामना आदनप्रदान गर्ने काम हुन्छ। कार्लालयका पूजा सकेर घरमै गएर परिवारभित्रै सीमित राखेर सदाझैं यो वर्ष पनि लक्ष्मीको पूजा हुन्छ।
हामी उद्योगी, व्यवसायीको लागि तिहार शुरू भएको दिनदेखि नै हरेक दिन सामान्य समयको भन्दा विशेष महत्व दिएर पूजाआजा त हुन्छ नै। घर, कार्यालय, कारखानासहित सबै ठाउँमा भव्यताका साथ पूजा गर्ने काम यो वर्ष पनि जारी रहन्छ। कार्यालयमा पुरोहित बोलाएरै पूजा हुन्छ भने घरमा आ–आफ्नै शैलीबाट पूजा हुन्छ।
विशेष रूपमा लक्ष्मीको पूजा हुन्छ
यसपालीको लक्ष्मीपूजा विगतको वर्षहरूमा झैं परम्परागत रूपमा नै हुन्छ। पहिले जसरी गरिन्थ्यो यस वर्ष पनि त्यस्तै हो। तर, बाहिरफेर घुमघाम गर्ने र भेटघाट भने कम गर्नुपर्ने बेला हो।
मेरो हकमा भने महासंघको चुनाव नजिकिँदै गएको र आफैं चुनावमा होमिएकोले भेटघाट पनि गर्नुपर्ने र पर्व पनि मनाउनुपर्ने छ।
यो वर्ष चाडबाडको भन्दा पनि महासंघको चुनावी चहलपहल बढी लागेको पनि छ। तर, पनि कार्यालमा दिउँसो पूजाआजा गर्ने र साँझ घरमा पारिवारिक जमघटबाटै लक्ष्मी पूजा गर्ने काम विगतका वर्षजस्तो यो वर्ष पनि हुन्छ। लक्ष्मीपूजा उद्योगी व्यवसायीको लागि विशेष र महत्वपूर्ण त हुने नै भयो। यो दिन अन्य दिनको भन्दा विशेष र खास दिन भएकोले लक्ष्मीको पूजा भव्य गर्नुनै पर्ने पनि हुन्छ।
दुःखसुख दुवैमा लक्ष्मीको पूजा धुमधाम नै गर्नुपर्छ
लक्ष्मी पूजाको तयारी विगतका वर्षहरू झैं यो वर्ष पनि धुमधामकै साथ भइरहेको छ।
यो वर्ष कोभिडका कारण व्यापार व्यवसाय ठप्प रह्यो। लक्ष्मी धनकी देवी भएकोले सुखमा पूजा गर्ने दुःखमा नगर्ने भन्ने हुँदैन। यो वर्ष आर्थिक हिसाबले दुःख नै भएपनि लक्ष्मीलाई पुज्ने र मान्नुपर्ने काममा चाहिँ कुनै कमी गर्ने भन्ने छैन।
विगतका वर्षहरू झैं यो वर्ष पनि आ–आफ्नो घरघरमा भव्य रूपमा लक्ष्मीको पूजा हुन्छ। यो वर्ष साथीसंगी बोलाउने, उनीहरूकोमा जाने, बाहिरतिरको रमाइलो गर्ने गरी जाने काम चाहिँ हुँदैन। पूजा गर्ने, घरमै बस्ने गर्छु। लक्ष्मीको पूजा भएकोले यो वर्ष दुःख परेको भएपनि अर्को वर्ष सुखसँग होस्, व्यापार व्यवसाय राम्रो होस् भन्ने कामना गर्दै यो वर्षको तिहार मनाउने सोंचमा छु।
बाहिर झिलीमिली, भित्र धुमधामले पूजा
लक्ष्मीपूजा हरेक घर–घरमा गरिने नेपालीको महान चाड हो। घरघरै बत्ति बाल्ने, झिलिमिली बनाउने र भित्र धुमधामले पूजा गर्ने काम विगतका वर्षहरू जस्तै यो वर्ष पनि हुन्छ।
कार्यालय झिलिमिली बनाउने, पूजा गर्ने र शुभकामना आदनप्रदान गर्ने काम हरेक वर्ष जस्तै यो वर्ष पनि हुन्छ।
कार्यालयमा हुने पूजाको लागि भने पण्डित बोलाएर औपचारिक रूपमा नै गर्ने गरिएको छ। बुद्ध एअरले दैनिक पूजाआजा गुरु बोलाएरै गर्ने गरेको छ। यो वर्ष पनि सोही अनुसार गर्छौं। हामीले पूजा गर्नलाई कर्मचारीकै रूपमा मासिक तबल दिएर गुरु राखेको छौं। उहाँबाटै केही विभागीय प्रखुसहितका सीमित कर्मचारी बोलाएर कार्यालयमा पूजा गर्छौं। घरमा भने आफ्नो ढंगले गर्ने पूजा विगतकै वर्षहरूको झैं निरन्तर हुन्छ।
पूजापाठमा रूचि छैन
म पूजापाठप्रति त्यति धेरै रूचि राख्दिनँ। त्यसैले मेरो आफ्नो पूजाको कुनै त्यस्तो खास कार्यक्रम पनि हुँदैन। घरको कान्छो छोरो भएकोले पहिलेदेखि नै आमाबुवा, दाजुहरूले पूजा गर्नुहुन्छ।
आफैं भने पन्छिदै आएकोले अहिले पनि सकेसम्म पन्छने नै गर्छु। कार्यालयमा आफ्नो ढंगले पूजाआजा हुन्छ। घरमा पनि आमाबुवाले नै गर्नुहुन्छ। म चाहिँ पठनपाठनमा नै रूचि राख्छु। लक्ष्मीपूजापछिको देउसी भैलो पनि जान मन पर्दैन। यो वर्ष त झन् कोरोना महामारीका कारण देउसी भैलो हुने पनि भएन। खासमा रूचि अनुसार नै पूजाआजाको तयारी र त्यसको प्राथमिकता तय हुने रहेछ। मेरो चाहिँ पूजाआजामा कम रूचि भएको विषय पर्यो।
पूजा गर्ने, आर्शिवाद माग्न चाहिँ नजाने
यो वर्षको दशैं तिहारसहितका सबै चाडलाई कोभिडले खुलेर मनाउन नपाउने, खुम्चिएर मनाउनुपर्ने र तामझाम कम गर्नुपर्ने बनाइदिइसक्यो। कोभिडले गर्दा सबैलाई गाह्रो भएको छ।
गाह्रो भएपनि लक्ष्मीको पूजा सबैले आ–आफ्नै रीति र परम्परा अनुसार गर्नै पर्छ। हामीले पनि कार्यालयमा गुरु बोलाएरै पूजा गराउँछौं। घरमा भने आफ्नै परिवारका सदस्यबाट गर्ने गरेको छौं। यो वर्ष पनि विगतको जस्तै घर तथा कार्यालय सफा गर्ने, उज्यालो बनाउने र रितपूर्वक पूजा गर्ने काम हुन्छ।
हाम्रो परम्परा अनुसार लक्ष्मीको पूजा गरेपछि भोलिपल्ट आफन्तकोमा आफूभन्दा ठूलाबाट आर्शिवाद लिने चलन छ। तर, यो वर्ष पूजा मात्रै गर्छौं। आर्शिवाद लिन चाहिँ जादैँनौं। कोभिडका कारण घरको मूलीबाट आर्शिवाद लिने काम यो वर्ष नहुने भयो। धनधान्यकी देवी लक्ष्मीको पूजा भने धुमधामका साथ गर्नैपर्छ। यो वर्ष पनि पहिले जस्तै आआफ्नो घरभित्र बसेर गरिने पूजा हुन्छ।