सानिमा ब्यांकले १० प्रतिशत बोनस शेयर र ३.६० प्रतिशत नगद लाभांश प्रदान गर्ने
सानिमा ब्यांक लिमिटेडले शुक्रबारका १६औं वार्षिक साधारण सम्पन्न गरेको छ। विश्वभर फैलिएको कोभिड–१९ महामारीको कारण सरकारले तोकेको सीमाभित्र शेयरधनीहरू सभामा प्रत्यक्ष उपस्थित भई बाँकी शेयरधनीहरूको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको ब्यांकले जनाएको छ।
ब्यांकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ३.६० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
आर्थिक वर्ष २०७६/७७ मा रू. १.७८ अर्ब खुद मुनाफा गरेको सानिमा ब्यांकको कुल सम्पत्ति रू. १२६.३१ अर्ब, कुल निक्षेप रू. ११०.१० अर्ब तथा खुद कर्जा सापटी रू ९३.६९ अर्ब रहेको छ।
आर्थिक वर्ष २०७५/७६ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १९.३०, १२.२९, र १५.८१ प्रतिशतले वृद्धि गरेको ब्यांकले जनाएको छ।
सानिमा ब्यांकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटीएम संचालनमा रहेका छन्।