कोरोना संक्रमित डा. गोविन्द केसीको उपचार खर्च सरकारले व्यहोर्ने
कोरोनाभाइरस संक्रमित डा. गोविन्द केसीको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार कोरोना पुष्टि भएका डा. केसीको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी गराएका छन्।
प्रधानमन्त्री ओलीले डा. केसीको स्वास्थ्यलाभको कामना पनि गरेका छन्। ‘कोरोनाबाट संक्रमित हुनु भएका डा. गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने समेत जानकारी गराउँदछु’, प्रधानन्त्री ओलीले शनिबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीलाई बिहीबार सामान्य रुघाखोकी, ज्वरोको लक्षण देखिएपछि कोरोना परीक्षण गरिएको थियो। शुक्रबार उनलाई संक्रण भएको रिपोर्ट आएको थियो।
डा. केसीको महाराजगञ्जस्थित शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ। डा. केसी चिकित्सा शिक्षा क्षेत्रको सुधार राखि पटक पटक अनशन बस्दै आएका थिए।
पछिल्लो पटक २९ भदौदेखि १९औं अनशन बसेका डा. केसीले सरकारसँगको ८ बुँदे सहमति पछि २५ असोजमा अनशन तोडेका थिए।