आगामी मंगलबारबाट खुलामञ्चलगायत खुला ठाउँमा खाना नखुवाइने
काठमाडौँमा आगामी मंगलबार (२ मंसीर) बाट खुलामञ्चलगायत खुला ठाउँमा खाना नखुवाइने भएको छ। व्यवस्थित रुपमा बन्द संरचनाभित्र खाना खुवाउन काठमाडौं महानगरपालिका र हाम्रो टीम नेपालबीच सहमति भएको छ।
हाम्रो टीम नेपालले महामारीमा खान समस्या भएकाहरुका लागि काठमाडौँको खुला ठाउँमा खाना खुवाउँदै आएको थियो। महानगरपालिकासँग भएको छलफलमा बन्द संरचनाभित्र व्यवस्थित रुपमा खाना खुवाउने सहमति भएको हाम्रो टिम नेपालका संयोजक विमल पन्तले जानकारी दिए।
स्वास्थ्य क्षेत्रको जोखिम, सङ्क्रमणको सम्भावना र मानवअधिकारको संरक्षण गर्ने उद्देश्यले खाना खुवाउने सेवा सडक क्षेत्रबाट कुनै बन्द संरचनाभित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने जनाइएको छ। यसअघि महानगरपालिकाले हाम्रो टीम नेपाललाई खुला ठाउँमा खाना खुवाउन नदिने जनाए पनि व्यापक विरोध भएपछि पछि हटेको थियो।
असहाय, अशक्त र शारीरिक रुपमा काम गर्न नसक्नेलाई मानवसेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको प्रबन्ध गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। आवश्यक समन्वयका लागि नजिककका वडा कार्यालय वा सिधै आश्रममा सम्पर्क गर्न महानगरपालिकाले अनुरोध पनि गरेको छ। उक्त आश्रम काठमाडौँ महानगरपालिकाको सहकार्यमा सञ्चालित छ।
आश्रमका अध्यक्ष रामजी अधिकारीले त्यस्ता सडक मानवलाई यसअघि सेवा दिइरहेको र आगामी दिनमा पनि सेवा दिन तयार रहेको जानकारी दिए। उनका अनुसार मुलुकका २२ शाखामार्फत अहिले झण्डै एक हजार २०० ले यसरी सेवा पाइरहेका छन्। अधिकारीले महानगरको सहकार्यमा उपत्यकालाई सडक मानवरहित बनाउने अभियान जारी रहेको बताए।
अन्य व्यक्तिको हकमा भने बन्द संरचनाभित्र सेवा सञ्चालन गर्न सम्बद्ध संस्थालाई महानगरपालिकाले अनुरोध गरेको छ। काठमाडौँ महानगरपालिकाले सूचना नै जारी गरी सबै सामाजिक सङ्घ संस्थालाई बन्द संरचनाभित्र उक्त सेवा सञ्चालन गर्न भनेको छ। त्यसका लागि महानगरपालिका तथा वडा कार्यालयबाट आवश्यक समन्वय र सहयोग रहने जनाइएको छ।
महानगरपालिकाले कोभिड–१९ का कारण रोजगारी गुमाएका श्रम गर्न सक्नेलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि २०७७ बमोजिम रोजगारी उपलब्ध गराउने भएको छ। आश्रमसँगको सहकार्यसँगै काठमाडौँ महानगरपालिकाले घोषणा गरेको ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ र ‘काठमाडौँ मानवीयताको नगर’ अनुरुप स्रोत साधनले भ्याएसम्म राहत वितरण, सामूहिक भोजन सेवा, रोगको सङ्क्रमण नियन्त्रण रोकथामको कार्य सञ्चालन गरिएको जनाएको छ।