एकल प्रस्ताव फिर्ता लिन दाहालसँग शंकर पोखरेलको आग्रह
नेकपा स्थायी कमिटी सदस्य एवम् लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग सचिवालयमा पेश गरेको एकल प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार व्यक्त गर्दै पोखरेलले दाहालले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय बैठकमा पस्ताव पेस गरेको बताएका छन्। दाहालले प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको पनि पोखरेलले आफ्नो स्टेटसमा उल्लेख गरेका छन्।
“म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु”, उनले भनेका छन्। व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य वुझ्न पोखरेलको सुझाव छ।
नेकपामा बढिरहेको विवादका बाबजुद २८ कात्तिकमा बसेको सचिवालय बैठकमा एकल राजनीतिक प्रस्ताव पेश गर्दै दाहालले ओलीलाई कम्युनिष्ट पार्टीको सिद्धान्त विपरित चलेको, पार्टीमा मनोमानी गरेको लगायत आरोप लगाएका छन्।