बढ्यो कोरोनाभाइरसको मृत्युदर, चार दिनमा करीब ४० हजारको मृत्यु
विश्वभर कोरोनाभाइरस संक्रमणबाट हुने मृत्युदर बढेको छ। पछिल्लो चार दिनमा नै करीब ४० हजार जनाकाृ मृत्यु भइसकेको छ।
जाडो शुरु भएसँगै युरोप र अमेरिकामा संक्रमण बढेपछि मृत्यु हुनेको संख्या पनि उकालो लाग्न थालेको हो। गएको चार दिनमा मात्र ३९ हजार ९१९ जनाको मृत्यु भएको छ।
बिहीबार विश्वभरका मृतकको संख्या महामारी शुरु भएयता पहिलोपटक १० हजार नाघेको थियो। उक्त दिन १० हजार १६२ जनाको मृत्यु भएको थियो। सबैभन्दा बढी अमेरिकामा एक हजार ४५६ जनाको मृत्यु भएको थियो। भारत, ब्राजिल, इटाली, मेक्सिको र बेलायतमा पनि ५०० भन्दा बढीको मृत्यु भएको थियो।
शुक्रबार भने विश्वभर नौ हजार ९४० जनाको मृत्यु भयो। सबैभन्दा बढी अमेरिकामा एक हजार ३९३, फ्रान्समा ९३२ र ब्राजिलमा ६१४ जनाको मृत्यु भयो। इटालीमा ५५० र भारतमा ५३९ जनाको मृत्यु भयो।
यसअघि गएको अप्रिलमा विश्वभर कोरोना संक्रमण उच्चदरमा पुग्दा मृत्युदर पनि बढेको थियो। गएको १७ अप्रिलमा सबैभन्दा बढी आठ हजार ५३४ जनाको मृत्यु भएको थियो। तर, गएको हप्तादेखि दैनिक मृत्युदरले उक्त आँकडा नाघेको छ।
संक्रमणको दोस्रो लहरसँगै युरोपका अधिकांश देशले स्वास्थ्य मापदण्ड र प्रतिबन्धहरुमा कडाइ गरेका छन्। अमेरिकाको ‘कोरोना हटस्पट’ न्यूयोर्कमा पनि त्यहाँका मेयरले गएको बिहीबारदेखि नयाँ प्रतिबन्धहरु घोषणा गरिसकेका छन्। तर, संक्रमण र मृतकको दर भने बढिरहेको छ।