ओलीलाई दाहालको प्रश्न- संकटकाल वा सदन विघटनको तयारी हो ?
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरविरोध उत्कर्षमा पुगेको छ। अध्यक्षद्वयबीच मौखिक टीका-टिप्पणी अब लिखित पत्रको प्रश्न, प्रतिवाद र कटाक्षको तहमा देखिएको छ।
२५ कात्तिकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पत्र लेखेका थिए। जसको जवाफमा २८ कात्तिक शुक्रबार दाहालले ओलीलाई पत्र लेखेका छन्। दाहालले ओलीले कार्यविभाजनको विषयमा हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्बन गरेर आफ्नो अपमान गरेको आरोप लगाएका छन्।
दाहालले विभिन्न प्रतिष्ठानका नाममा प्रदेश र जिल्लास्तरीय भेला गरी जनताको बहुदलीय जनवादको पक्षमा चलाइएको अभियानप्रति प्रश्न गर्दै विभिन्न प्रदेश र जिल्लाबाट नेताहरु बालुवाटारमा बोलाएर गरिएका भेला र बैठक गुटबन्दी हुन् कि होइनन् भन्ने प्रश्न गर्दै लेखेका छन्, “अर्काको आङको जुम्रा देख्ने र आफ्नो आङको भैंसी पनि नदेख्ने भनेको यही होइन र ?”
“दुई अध्यक्षबीचको कार्यविभाजनको सन्दर्भमा तपाईंले जहिले पनि हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्बन गर्दै आएको कुराले मलाई निकै ठूलो पीडा र अपमानबोध गराएको छ”, दाहालले ओलीलाई लेखेको पत्रमा भनेका छन्, “पार्टी एकताको बेलाको समान हैसियत, आलोपालो अध्यक्षता र आलोपालो सरकार समेत मैले तपाईंको जिद्दी र पार्टी एकताप्रतिको मेरो निष्ठाका कारण छोड्दै गएँ। तर, मैले जति त्याग गर्यो तपाईंले त्यति नै अपमानित गर्ने काम बढाउँदै लानुभयो।”
दाहालले गत वर्षको ४ मंसीरमा आफू पार्टीको कार्यकारी अध्यक्षको हैसियतमा पार्टी काममा केन्द्रित हुने र ओलीले पूरै कार्यकाल सरकार चलाउने निर्णय आफ्नै प्रस्तावमा भएको स्मरण गराउँदै त्यसको दुई दिनपछि नै कार्यकारी हैसियतमा सार्वजनिक चुनौती दिएर अवज्ञा गरेको आरोप ओलीमाथि लगाएका छन्।
यस्तै, दाहालले केन्द्रीय कमिटीको दोस्रो बैठकपछि ओलीले आफूनिकट नेताहरु भेला गरेर आफूसहित पूर्व माओवादीमाथि हमला गर्ने निर्णय गरेको र देशव्यापी अभियान चलाएको आरोप पनि लगाएका छन्। “त्यो प्रक्रियाका उत्कर्ष मेरो अध्यक्षको कुर्सी हटाएर अपमानित गर्ने स्तरसम्म उत्रिनुभयो। त्यतिबेला मेरो ‘गल्ती’ भनेको पार्टीभित्रका सबै प्रवृतिलाई समेटेर बैठक सफल पार्नु थियो”, दाहालले ओलीको पत्रमा जवाफ दिंदै भनेका छन्।
अध्यक्ष दाहालले ओलीलाई आफू र वरिष्ठ नेता विरुद्ध गालीगलौजमा उत्रिएको र स्थायी समितिले गरेको निर्णय नमानेको आरोप लगाउँदै कार्यदलले बुझाएको प्रतिवेदनप्रति गम्भीर नरहेको बताएका छन्।
राजदूत नियुक्तिको प्रसंगमा प्रधानमन्त्री ओलीको पत्रको जवाफमा दाहाल लेख्छन्, “राजदूत नियुक्तिका सन्दर्भमा हाम्रोबीचमा छलफल अवश्य भएको हो, तर सबै कुरा मिलेको पनि होइन। त्यो भन्दा पनि मुख्य कुरा राजदूत नियुक्ति गर्नुअघि स्थायी समितिको मर्म र भावना अनुसार एकपटक सचिवालयमा परामर्श, छलफल गरेर मात्र निर्णय गर्नुपर्छ भन्ने मेरो भनाइमा कमरेडले ‘हुन्छ’ भनेर सहमति पनि जनाउनुभयो। तर, म बालुवाटारबाट निस्किएपछि त्यसै दिनको क्याबिनेटबाट मलाई पनि थाहा नदिई राजदूत नियुक्ति गर्नुभयो। अहिले पत्रमा सबै कुरालाई सल्लाहले गरेको हुँ भन्नु दिउँसै रात पार्ने जाली कुरा भएन र कमरेड?”
अध्यक्ष ओलीले नेतृत्व परिवर्तन गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने आदर्शका कुरा पत्रमा लेखे पनि व्यवहारमा भने कसैले आफूलाई पदबाट हटाउन खोजेमा त्यो सचिवालय, स्थायी समिति वा केन्द्रीय समितिको बहुमतले भने पनि आफूले नमान्ने कुरा खुला रुपमा गरिरहेकोमा दाहालले कटाक्ष गरेका छन्।
ओलीले दाहालमाथि गुटबन्दी गरेको आरोप लगाएकोमा दाहालले त्यसको पनि प्रतिवाद गरेका छन्। दाहालले विभिन्न प्रतिष्ठानका नाममा प्रदेश र जिल्लास्तरीय भेला गरी जनताको बहुदलीय जनवादको पक्षमा चलाइएको अभियानप्रति प्रश्न गर्दै विभिन्न प्रदेश र जिल्लाबाट नेताहरु बालुवाटारमा बोलाएर गरिएका भेला र बैठक गुटबन्दी हुन् कि होइनन् भनेर सोध्दै लेखेका छन्, “अर्काको आङको जुम्रा देख्ने र आफ्नो आङको भैंसी पनि नदेख्ने भनेको यही होइन र ?”
दाहालले ओलीले आफूलाई पदबाट हटाउन नसक्ने अभिव्यक्ति दिएकोप्रति प्रश्नैप्रश्न तेर्स्याएका छन्। अध्यक्ष ओलीले नेतृत्व परिवर्तन गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने आदर्शका कुरा पत्रमा लेखे पनि व्यवहारमा भने कसैले आफूलाई पदबाट हटाउन खोजेमा त्यो सचिवालय, स्थायी समिति वा केन्द्रीय समितिको बहुमतले भने पनि आफूले नमान्ने कुरा खुला रुपमा गरिरहेकोमा दाहालले कटाक्ष गरेका छन्।
दाहालले पत्रका लेखेका छन्, "विघटन भइसकेको पार्टीको महाधिवेशनले छानेका अध्यक्ष हुनाले मलाई कसैले हटाउन सक्दैन भन्ने अनौठो तर्क गर्नुहुन्छ। पार्टी अध्यक्ष वा प्रधानमन्त्रीबाट हटाउन खोजे कुर्सी नै भाँचिदिने चर्चा पनि आइरहन्छ, यो के हो कमरेड ? यो फेरि अर्को अध्यादेश ल्याएर पार्टी फुटाउने कुरा हो कि ? संकटकाल लगाएर जान्छु भन्ने हो कि ? सदन विघटन गर्ने कुरा हो कि ? मैले बुझ्न सकेको छैन।"
पार्टी एकता गर्ने र यसको रक्षा गर्ने काममा ओलीको भन्दा आफ्नो वैचारिक र भावनात्मक निष्ठा र त्याग बढी नै रहेको दाहालले दाबी गरेका छन्। उनले लेखेका छन्, "वाम गठबन्धन र पार्टी एकताको प्रस्ताव लिएर म तपाईंकहाँ गएको (रघुवीर महासेठको घरमा) तथ्य कमरेडलाई पक्कै सम्झना होला। पार्टी एकताको निमित्त निर्वाचनपछि प्राप्त भएको प्रधानमन्त्रीको पद त्यागेर आलोपालोको सहमति पनि पूरै तपाईंलाई नै सुम्पने म कचकचे ? यो कस्तो व्याख्या हो?”