ईश्वर पोखरेल भन्छन्- 'केही व्यक्तिहरू संघीयताले देश बिगार्यो भन्दै हिँडेका छन्, स्थानीय तहले जवाफ दिनुपर्छ'
गाउँपालिका राष्ट्रिय महासंघ नेपालले गाउँपालिकाहरूले गरेको असल अभ्यासहरूको संगालो ‘स्थानीय सरकारका तीन वर्ष’ नामक विशेषांक (पुस्तक) प्रकाशन गरेको छ। आज दिउँसो भर्चुअल कार्यक्रममार्फत उपप्रधानमन्त्री ईश्वर पोखरेलले सो पुस्तक सार्वजनिक गरेका हुन्।
स्थानीय सरकार गठन भएपछिको तीन वर्षमा देशभरका गाउँपालिकाहरूले गरेका असल कामहरू उल्लेख गरिएको छ। कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले स्थानीय सरकारको असल अभ्यासले संघीयता बलियो हुने भएकाले यस्ता अभ्यासहरूको संगालो प्रकाशन गर्नु महत्वपूर्ण काम भएको बताए। “केही व्यक्तिहरू संघीयताले देश बिगार्यो भन्दै हिँडेका छन्, यसरी काम भइरहेको छ भनेर हरेक पालिकाहरूले पनि आफूले गरेको कामहरू बाहिर ल्याउनु उपयुक्त हुन्छ", उनले भने।
त्यस्तै पूर्व मन्त्री तथा सांसदहरू गोकर्ण विष्ट र गगन थापाले यो अध्ययन गरेर हामीले अर्को ठाउँमा गएर यो असल अभ्यासहरूको बारेमा बताउने र अरूले पनि सिक्न लायक काम गरेको बताए।
संविधान सभा सदस्य कृष्णप्रसाद सापकोटाले पुस्तकमा समेटिएका असल कामहरूको बारेमा जानकारी गराउँदै स्थानीय तहले धेरैले राम्रो काम गरे पनि नराम्रो कामको बढी प्रचार भएको भन्दै यो पुस्तक उदाहरणीय भएको बताए।
पुस्तकमा प्रदेश १ बाट ३८ ओटा, प्रदेश नं. २ बाट १९, बागमती प्रदेशबाट ६२ ओटा अभ्यासहरू समेटिएको छ। त्यसैगरी गण्डकीबाट ३१, लुम्बिनीबाट ३९, कर्णालीबाट २८ र सुदुरपश्चिम प्रदेशबाट २६ ओटा अभ्यासहरू समेटिएका छन्।
पुस्तकमा असल अभ्यासहरूलाई पाँच वटा विषयगत क्षेत्रमा विभाजन गरी गाउँपालिकाका समग्र कार्यालय व्यवस्थापन, विधायिकी कार्य, कानुन निर्माणको अवस्था, योजना तर्जुमा तथा बजेट, सुशासन र अन्तरसरकार समन्वयका क्षेत्रमा सम्पादन भएका कामहरू समावेश गरिएको छ। त्यस्तै भौतिक पूर्वाधार, सामाजिक क्षेत्र तथा गाउँपालिकाको नागरिकको समग्र आर्थिक अवस्थाको विकासमा भएका कामका साथै, कृषि, पर्यटन, विपद् वस्थापनल गायतका क्षेत्रमा भएका कामलाई समेटिएको छ।
देशभर कुल ४६० गाउँपालिकामध्ये पुस्तकमा सबै प्रदेशका गरी २४३ वटा गाउँपालिकाका असल काम समेटिएको महासंघका कार्यकारी निर्देशक विमल पोखरेलले जानकारी दिए। विषय क्षेत्रगत रुपमा सबैभन्दा बढी सामाजिक विकास क्षेत्रका ८६ ओटा असल अभ्यासहरू परेका छन् भने सबैभन्दा कम वन, वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रबाट ११ ओटा मात्र परेका छन्। पुस्तकको पीडीएफ भर्सन महासंघको वेवसाइटमा राखिएको छ।
महासंघका अध्यक्ष होमकुमार श्रेष्ठले गाउँपालिकाहरूले गरेको सबै काम यो पुस्तकमा नअटाउने भएकाले आगामी दिनमा पनि यसखालको सामग्री प्रकाशनलाई निरन्तरता दिने बताए।
विभिन्न गाउँपालिकाका जनप्रतिनिधि, सांसदहरू, स्थानीय तहका विज्ञ तथा पत्रकारहरू सहभागी भएको कार्यक्रममा कोरोना विरुद्ध गाउँपालिकाहरूले गरेको कामको फोटोग्राफी भिडियो र कोरोना विरुद्ध महासंघले गरेको अध्ययन प्रतिवेदनको निष्कर्ष पनि सार्वजनिक गरिएको थियो।
गाउँपालिका महासंघले करिब डेढ वर्षअघि पनि ‘गाउँपालिकाले गरेका १०१ असल अभ्यासहरू’ सार्वजनिक गरेको थियो।