कोरोना प्रभाव बढेपछि फ्रान्समा डिसेम्बरसम्म बन्दाबन्दी जारी रहने
फ्रान्समा कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दी आगामी डिसेम्बर महीनासम्म जारी रहने बताइएको छ। प्रधानमन्त्री जिन क्यास्टेस्कले फ्रान्समा जारी रहेको बन्दाबन्दी आगामी डिसेम्बर महीनासम्म नै कायम रहने बताएका हुन्।
प्रधानमन्त्री क्यास्टेकको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उनले भनेका छन्, "म र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले कम्तीमा आगामी महीनासम्म यो अहिलेको लकडाउन जारी राख्ने निर्णय गरेका छौँ ।"
यो बन्दाबन्दीको अवधिमा तोकिएको समयमा भन्दा बाहेक मानिसहरू घरबाट बाहिर निस्कन पाउने छैनन् भने कतिपय प्रतिबन्ध गरिएका सेवाहरू पनि सुचारु गर्न पाइने छैन। केही समयअघि फ्रान्सको सरकारले यहाँ कोरोना भाइरसका संक्रमितहरु पहिलेको तुलनामा निकै नै बढ्न थालेपछि बन्दाबन्दी गरिएको छ।
प्रधानमन्त्री क्यास्टेकले पछिल्लो चरणमा देखा परेको कोरोना भाइरसको प्रभाव निकै नै रहेको देखिएको बताए। उनका अनुसार फ्रान्समा पछिल्लो हप्ताको तथ्यांक हेर्दा हरेक दिन कम्तीमा पनि ५०० जनाको निधन नै हुने गरेको छ भने दैनिक हजारौँ जना संक्रमितहरू थपिने गरेका छन्।
यसैले यहाँको सरकारले कडा खालको नाकाबन्दी गरेको छ। यहाँका नागरिकले यस बन्दाबन्दीको विरोध पनि गरेका थिए। तर प्रशासनले भने सरकारले गरेको बन्दाबन्दीको कार्यान्वयन गराउनका लागि ठूलो निगरानी गरेको जनाएको छ।