माधव नेपाल भन्छन्- ‘पार्टीका निर्णयलाई स्वीकार गरे समस्या समाधान हुन्छ’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिवद्धता जनाए पार्टीभित्र देखिएको समस्या समाधान हुने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफै हुने बताएका हुन्।
त्यसका लागि पार्टी कमिटीको बैठक निरन्तर राखि छलफल, बहस र वादविवाद गर्नुपर्ने उनको भनाइ छ। बहसबाट भाग्ने, बैठकबाट भाग्ने र कमिटी प्रणालीबाट भाग्ने भएमा समस्याको समाधान हुन नसक्ने पनि नेता नेपालले बताए।
“पार्टी कमिटी नै एउटा ठाउँ हो जहाँ सबै खालका कुराहरू आउँछन, आउनुपर्छ। छलफल, बहसबाट नै उपाय खोज्नुपर्छ। किनभने हामीले आन्दोलनलाई र यो पार्टीलाई एकतावद्ध भएर अगाडी बढाउनुपर्छ”, नेता नेपालले भने, “हामी सबै अनुशासनमा बाधिने हो भने, आफ्नो-आफ्नो ठाउँमा सशक्त र प्रभावकारी भूमिका खेल्ने हो भने, भएका कमी कमजोरीलाई सुधार्ने हो भने यो आन्दोलन अगाडि बढ्छ। पार्टी अगाडि बढ्छ।”
उनले विगतमा पनि छलफल, बहस र वादविवादबाटै समस्या समाधान गर्दै आएको स्मरण गरेका छन्। छलफल, बहस, बैठक, कमिटी प्रणालीबाट भाग्न नहुने भन्दै उनले थपे, “ एक्लै बन्ने पनि होइन, पार्टीको सामूहिक नेतृत्वलाई पार्टीको निर्णयलाई स्वीकार गर्ने सबैमा प्रतिवद्धता चाहिन्छ।”
पार्टीलाई एकतावद्ध भएर अगाडि बढाउन सबै नेता कार्यकर्ता अनुशासनमा बाधिनुपर्ने पनि वरिष्ठ नेता नेपालले बताए। पार्टीको अनुशासनमा बाधिने र आ–आफ्नो ठाउँबाट सशक्त र प्रभावकारी भूमिका खेल्ने र कमिकमजोरीहरूलाई सुधारेमा कम्युनिष्ट आन्दोलन र पार्टीको एकतालाई बचाउन सकिने नेता नेपालको भनाइ छ।