नेकपा सचिवालय बैठक ४० मिनेटमै सकियो, अर्को बैठक ३ मंसिरमा बस्ने
लामो विवादपछि बसेको नेकपा सचिवालयको बैठक ४० मिनेटमै सकिएको छ। सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अब अर्को बैठक ३ मंसिरमा बस्ने छ।
आजको बैठकमा पार्टीमा उत्पन्न विवाद, समस्या र त्यसको समाधानलाई कार्यसूची बनाएर छलफल गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए। उक्त कार्यसूची अन्तर्गत यसअघि स्थायी कमिटीको निर्णय कार्वान्यनको विषय, कर्णाली प्रदेशको विवाद, पर्सा लगायतका स्थानमा पार्टी कार्यकर्ताबीच भएको दोहोरो झडप, कोभिड-१९ र त्यसले उत्पन्न गरेको आर्थिक संकट, पार्टी र सरकारकाबीच उत्पन्न विवाद र भारतीय गुप्तचरका प्रमुखको नेपाल भ्रमणको विषयमा छलफल हुने श्रेष्ठले बताए।
उनका अनुसार अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई लेखेको पत्र र उक्त पत्रको जवाफमा दाहालले ओलीलाई लेखेको पत्र तथा पार्टीको संकट र निवारणको विषयमा सचिवालयमा छलफलका लागि अध्यक्ष दाहालले तयार गरको प्रस्ताव, स्थायी कमिटीको बैठक पछाडी जारी गरिएको अन्तरपार्टी निर्देशिका सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको छ।
वितरण भएका सबै सामग्री अध्ययन गरी अर्को बैठकमा पार्टी एकताको रक्षा, पार्टी र सरकारका सामु देखिएका ऐतिहासिक जिम्मेवारी पूरा गरेर अगाडी बढ्ने विषयमा गम्भीर छलफल हुने श्रेष्ठले बताए।
आजको बैठकमा यसअघि सचिवालय बैठक बोलाउनका लागि दाहालले गरेको आग्रह र सचिवालयका बहुमत सदस्यहरूले पेश गरेको लिखित पत्रका विषयमा पनि छलफल भएको छ।