कर्णालीमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा शुरू
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नाक, कान र घाँटीको विशेषज्ञ स्वास्थ्य उपचार सेवा शुरू भएको छ। यही सातादेखि प्रतिष्ठानमा नाक, कान र घाँटीको स्वास्थ्य उपचार सेवा शुरू भएको हो। नाक, कान र घाँटीको उक्त स्वास्थ्य उपचार सेवा विशेषज्ञ डा.सरोज काफ्लेले शुरू गरेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए।
प्रतिष्ठान शिक्षाध्यक्ष डा. निरेश थापाले नाक, कान, घाँटीको विशेषज्ञ सेवा प्रवाहले कर्णालीवासीलाई थप सहयोग पुगेको बताए। यस अघिदेखि प्रतिष्ठानले जिपी इमरजेन्सी मेडिसन, सर्जरी, महिला तथा प्रसुति रोग, मेडिसिन, हाडजोर्नी तथा नसा, मनोचिकित्सा, बालरोग, दाँत, प्याथोलोजी, अप्थलोजी, आईसीयू, एनआईसीयू, कोरोना आईसीयू, पल्मोनोलोजीलगायत विशेष सेवा दिँदै आइरहेको शिक्षाध्यक्ष डा. थापाले बताए।
“क्यान्सर, मिर्गौला, न्यूरो स्पाइनल सर्जरी रोगका लागि नेपाल सरकारले प्रतिष्ठानलाई सूचीकृत गर्दैछ”, उनले भने, “अब कर्णालीका नागरिकले यी जटिल खालका रोगहरूको प्रतिष्ठानबाट निःशुल्क उपचार पाउनेछन्।” अस्पताल निर्देशक डा. मङ्गल रावलले प्रतिष्ठानको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा अपेक्षित उपलब्धि हाँसिल भएको र यसको संस्थागत विकासमा सबै एकाकार भएर लाग्नुपर्ने अपरिहार्यता खट्किएको तर्क गरे।
“प्रतिष्ठानले कर्णाली प्रदेशका १० जिल्लासहित सुदूरपश्चिम प्रदेशका बझाङ बाजुरा र अछाममा समेत आफ्नो सेवा प्रवाह गर्दै आएको छ”, निर्देशक डा. रावलले भने, “यसले सेवा क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचार, शिक्षा र रोजगारीको अवसर प्रदान गर्दै आएको छ।”