अष्ट्रेलियाबाट निर्जन रिजालको र्याप 'अर्थ' सार्वजनिक
अष्ट्रेलियामा रहेका नेपाली युवा निर्जन रिजालको समूहले र्याप विधाको गीत 'अर्थ' को म्यूजिक सार्वजनिक गरेको छ। निर्जनले गीतमा अहिले युवा पुस्ताले गुजारीरहनु परेको समय र उनीहरूको सोचलाई प्रतिबिम्बित गरेका छन्।
आफू बाँचेको जीवनको तात्पर्य खोज्न युवाहरूलाई झकझक्याउन सकियोस् भन्ने उद्देश्यले गीत रचना गरिएको निर्जनको भनाइ छ। उनले बाँकी बोध गर्ने जिम्मेवारी दर्शक र स्रोतालाई छोडेको बताए।
विश्व संगीतमा अलिक उदार मानिने र्याप संगीतप्रति नेपाली युवाको आकर्षण पछिल्लो समय दिनप्रतिदिन बढ्दै गइरहेको छ। देशभित्रबाट मात्र होइन अध्ययन र रोजगारीको सिलसिलामा विदेशमा रहेका युवाले पनि र्याप गीतमाथि काम गर्न थालेका छन्। केही वर्षदेखि अष्ट्रेलियामा रहेका निर्जन रिजाल र उनको समूहका सदस्य पनि यसैका उदाहरण हुन्।
"हामीले यसअघि छोटा फिल्म बनाइरहेका थियौं, केही स्टेज प्रस्तुतीहरू दिँदै आइरहेका थियौं, तर यसपटक युवा पुस्ताले मन पराउन थालेको आधुनिक संगीतको एउटा विधा रोज्यौं", गीतका स्रजक तथा गायक रिजालले भने, "कतिपय र्याप गीतहरू हेर्नेका लागि मात्रै बनाइएका हुन्छन्, हामीले यसलाई सुन्ने र अनुभूत गर्ने प्रकारको बनाउने प्रयत्न गरेका छौं।"
निर्जन रिजालको रचना र रहेको यस गीतमा सन्तोष अधिकारीले आवाजमा साथ दिएका छन्। सेरप म्युजिकको प्रोडक्सन रहेको यस गीतलाई निर्जन आफैँले निर्देशन गरेका छन् भने गीतको म्युजिक भिडिओमा निशाल सिलवालको अभिनय रहेको छ।