काठमाडौं महानगरले काम गर्न सक्नेलाई रोजगारी र नसक्नेलाई खाना दिने, भन्यो- ‘वडा कार्यालयमा सम्पर्क गर्नू’
काठमाडौं महानगरपालिकाले श्रममा आधारित रोजगारी दिने सम्बन्धी सूचना जारी गर्दै वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। शुक्रबार सूचना निकाल्दै महानगरले कोभिड-१९ का कारण रोजगारी गुमाएका श्रम गर्न सक्ने महानगरवासीलाई ‘जीवन निर्वाहको लागि पारिश्रमिक कार्यविधि, २०७७’ बमोजिम रोजगारी दिने भएकाले आफू बसोवास गर्ने क्षेत्रको वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ।
रोजगारीका लागि फाराम भर्नुपर्ने गरी फाराम महानगरको वेवसाइटमा राखिएको छ। जसमा आफ्नो परिचयसँगै, स्थायी र अस्थायी ठेगाना, उमेर, भाडामा बसेको हो भने घरधनीको नाम र सम्पर्क नम्बर तथा आश्रित परिवारको संख्या तथा सम्भव भए पहिलेको रोजगारदाताको विवरण पनि उल्लेख गर्न भनेको छ।
‘खानाका लागि मानव सेवा आश्रममा सम्पर्क गर्नू’
महानगरपालिकाको सूचनामा काम गर्न नसक्नेलाई खानाको व्यवस्थाका लागि विभिन्न मानव सेवा आश्रम वा वडामा सम्पर्क गर्न पनि आग्रह गरिएको छ। महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारीरिक रूपमा काम गर्न नसक्ने महानगरवासीले महानगरपालिकाको सहकार्यमा संचालित मानव सेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको सुविधा उपलब्ध भएकाले त्यसका लागि पनि नजिकका वडा कार्यालय वा सिधै मानव सेवा आश्रममा सम्पर्क गर्न भनिएको छ।
सूचनामा भनिएको छ, ‘स्वास्थ्य जोखिम, संक्रमणको जोखिम र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा आगामी २ मंसिरबाट बन्द गर्ने निर्णय भएकोले अन्य बन्द संरचनाभित्र स्वास्थ्य मापदण्ड पालना गरेर भोजन सेवा संचालन गर्न सामाजिक संघसंस्थालाई अनुरोध छ। यस कार्यमा काठमाडौ महानगरपालिका तथा वडा कार्यालयवाट आवश्यक समन्वय तथा सहयोग हुनेछ।’
पहिले सार्वजनिक यातायात नचल्दा सार्वजनिक स्थानमा भोजन सेवा शुरू गरे पनि अहिले सार्वजनिक यातायातका कारण भीडभाड बढेको र स्वास्थ्य मापदण्ड कार्यान्वयनमा समस्या भएकाले सार्वजनिक स्थानमा भोजन सेवा बन्द गरिएको महानगरले भनेको छ।