कैलालीको सीमावर्ती क्षेत्रबाट रू. ६६ लाखको सामान बरामद
भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रबाट गएको चौमासिक अवधिमा अवैध रूपमा आयात-निर्यात भएका रू. ६६ लाख २१ हजार ९८१ मूल्य बराबरका विभिन्न सामान बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीको टोलीले सीमावर्ती क्षेत्रमा बरामद गरेका ती सामान भन्सार कार्यालयमा बुझाइएको छ। बरामद भएको मध्ये रू. ५१ लाख ९६ हजार ४८१ मूल्य बराबरको लत्ताकपडा, खाद्यान्न रासायनिक मल, हार्डवेयर, हरियो केराउलगायतका सामान रहेको कार्यालयका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवँरले बताए।
यस्तै रू. ११ लाख ५३ हजार ५०० बराबरको अबैध काठ र काठ बोक्न प्रयोग भएका सवारी साधन समेत नियन्त्रणमा लिई डिभिजन वन कार्यालयमा बुझाइएको छ। रू. दुई लाख ७२ हजार बराबरका अवैध माछा र कुखुरा बरामद गरी नष्ट गरिएको छ। लागू औषध ब्राउन सुगर, खैरो हेरोइन, चरेश सहित यसको तस्करी र ओसार पसारमा संलग्न आठ जनालाई समेत पक्राउ गरिएको छ।
“सीमा क्षेत्रमा चोरी तस्करी जस्ता अवैध र अबाञ्छित गतिविधि पहिलेको भन्दा घटेका छन्”, कुवँरले भने, “थप सात ठाउँमा बीओपी स्थापना गर्न सकिएमा चोरी तस्करी जस्ता अवैध कार्य थप नियन्त्रणमा आई सीमा सुरक्षामा बल पुग्ने छ।”
कैलालीको सीमावर्ती क्षेत्रमा आवश्यक थप सात ठाउँमा बीओपी थप्ने प्रक्रिया अघि बढेको जनाइएको छ। कैलालीको १०१ किमी सीमा भारतसँग जोडिएको छ। सीमा क्षेत्रमा हाल सशस्त्र प्रहरी बलको १२ ठाउँमा रहेका सीमा सुरक्षा पोष्ट (बीओपीं)मार्फत् नियमित गस्ती भइरहेको छ।
अहिलेसम्म प्रत्येक दश किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको एक बीओपी रहेकोमा अब प्रत्येक पाँच किलोमिटरको दूरीमा एक बीओपी स्थापना गर्ने प्रक्रिया अघि बढाउन लागिएको बताइएको छ। जिल्लाका सशस्त्र प्रहरीका चार वटा सुरक्षा बेशबाट राजमार्ग सुरक्षा भइरहेको छ।