नग्नतामा रूपान्तरित नेपाली राजनीति
बालिग नेपालीहरूले दुई वर्षपछि मतदान गरेर सरकारको 'डेलिभरी'को सीधा हिसाब–किताब त गर्नेछन्। तर समस्या चाहिं नेपाली राजनीतिज्ञले गुमाएको चरित्र मर्यादित कसरी बनाउने वा आफ्ना नानीहरूलाई देश चलाउने नेताहरूको चरित्रको औचित्य कसरी पुष्टि गर्ने भन्ने भएको छ।
‘अब म आफ्ना बच्चाहरूलाई चरित्रको औचित्य बताउन सक्नेछु, सत्यको औचित्य छ भन्न सक्नेछु, असल मानिस हुनुको औचित्य छ भन्न सक्नेछु’ पेन्सिलभेनिया राज्यको अन्तिम मत परिणामको घोषणासँगै जो बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति सुनिश्चित भएपछि सीएनएन स्टुडियोको प्रत्यक्ष निर्वाचन कभरेजमा बोल्दै गर्दा निर्वाचन समीक्षक, लेखक तथा अधिवक्ता भ्यान जोन्स आफूलाई सम्हाल्न सकिरहेका थिएनन्।
हर्षको वलिन्द्रधारा बगाउँदै उनले अश्वेत, ल्याटिनो, एशियाली मूलका अनि सीमान्तकृत अमेरिकीहरूले बल्ल चार वर्षपछि ‘आइ क्यान ब्रीद’ भन्ने अवसर पाएको टिप्पणी गरे।
गएको २५ मे २०२० मा मिनियापोलिसमा प्रहरी नियन्त्रणमा बलजफ्ती घाँटी थिचिएपछि निस्सासिएका अफ्रिकी–अमेरिकी समुदायका जर्ज फ्लोयडको अन्तिम बोली ‘आइ कान्ट ब्रीद’ — अश्वेत अमेरिकी नागरिकको ‘घुटन’ व्याख्या गर्ने नारा बन्दै आएको छ। डोनाल्ड ट्रम्पको श्वेत श्रेष्ठतावादी विभेदकारी शासनको अन्त्यसँगै अफ्रिकी, ल्याटिनो र एशियाली अमेरिकीले श्वास फेर्न सक्ने वातावरण सिर्जना हुने जोन्सको विश्वास छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचनमा पराजय (यद्यपि ट्रम्प स्वयंले आफ्नो पराजय स्वीकारिसकेका छैनन्) का अनेक कारणमध्येको एक ट्रम्पको चरित्र मानिन्छ। ट्रम्पको असभ्य बोली र दुर्वचन, अशिष्ट व्यवहार र भावभंगिमा अनि अहंकार र आत्ममुग्धताकारी स्वभावका कारण विगत चार वर्षदेखि अमेरिकी समाज विभक्त थियो भने त्यहाँका आप्रवासी एवं अल्पसंख्यक निस्सासिंदै आएका थिए।
ट्रम्पको प्रत्यक्ष शासन खेप्नु नपरेका गैर–अमेरिकी समेत उनको एकलकाँटे र उरन्ठेउला हर्कतदेखि वाक्कदिक्क थिए। ट्रम्पको पतनसँगै उग्रराष्ट्रवादी लोकप्रियतावादको विश्वलहर पनि मत्थर हुँदै जाने अन्तर्राष्ट्रिय राजनीतिका विश्लेषकहरूको मत छ। अमेरिकी वा गैर–अमेरिकी जोसुकै किन नहुन्, न्याय, चरित्र र शिष्टताका पक्षपाती ट्रम्पको पतनबाट खुशी छन्।
सरकारले कस्तो डेलिभरी गर्यो, त्यसबारे चर्चा आवश्यक पनि छैन। किनकि, त्यसबारे हुलाक टिकट पछाडिको सेतो भाग भर्न पनि हम्मे पर्नेछ। तर, सरकार कहाँ चुक्यो, त्यो लेख्ने हो भने एउटा ग्रन्थ नै तयार हुन्छ।
सात समुद्रपार अमेरिकी निर्वाचनको एकखाले तरङ्ग नेपालमा पनि महसूस गरिंदैछ। हुन त अहिले नेपालमा निर्वाचनको याम छैन। तैपनि पछिल्लो निर्वाचनले तीन वर्ष पार गरिसकेको अवस्थामा सरकारको कार्यसम्पादनबारे मूल्याङ्कन गर्नु सान्दर्भिक हुन्छ। सरकारले कस्तो डेलिभरी गर्यो, त्यसबारे चर्चा आवश्यक पनि छैन। किनकि, त्यसबारे हुलाक टिकट पछाडिको सेतो भाग भर्न पनि हम्मे पर्नेछ। तर, सरकार कहाँ चुक्यो, त्यो लेख्ने हो भने एउटा ग्रन्थ नै तयार हुन्छ।
तर, यो आलेख सरकारको डेलिभरीमा नभएर भ्यान जोन्सले उठाएको नेतृत्वको ‘चरित्र’ को महत्तामा केन्द्रित छ। जो वाइडेन र कमला ह्यारिस निर्वाचित भएसँगै जोन्सलाई आफ्ना बालबच्चालाई राजनीतिकर्मीका चरित्र र शिष्टताको औचित्य व्याख्याको सुविधा प्राप्त भएको छ। पंक्तिकार यो प्रश्न स्वयंलाई गर्दा उत्तरको आल्हाद होइन घुटन अनुभूति गर्दछ।
अहिलेको नेपाली राजनीतिको केन्द्रमा सौम्य नभएर अहंकारी र आत्ममुग्धकारी नेतृत्वको वर्चश्व छ। त्यो झुण्डको नेतृत्व प्रधानमन्त्री खड्गप्रसाद ओलीले गरेका छन्। त्यसैले उनी व्यक्ति सँगसँगै एउटा प्रवृत्तिको रूपमा स्थापित छन्। अर्काको खिसीटिउरी तर आफ्नोचाहिं प्रशंसा रुचाउने ओलीको स्वभावका कारण उनले असहिष्णु र अशिष्ट गुट तयार पारेका छन्। नेपाली सत्ता राजनीतिको त्यो ‘न्युक्लियस’ सार्वजनिक मञ्च र सामाजिक सञ्जालमार्फत आफ्ना विपक्षी एवं आलोचकको मानमर्दनमा न्वारानदेखिको बलले लागिरहेको छ।
विपक्षी किन भनिएको हो भने, आजको मितिमा नेपालमा प्रतिपक्ष भनिने वैधानिक विपक्षीको अस्तित्व शून्य बराबर छ। बरू सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै सरकार विरोधी एउटा जण्ड गुट तयार भइसकेको छ, जसको नेतृत्व पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्। प्रम ओली आफ्ना ‘विपक्षी’ दाहाल एण्ड कम्पनीको तेजोबध निम्ति शब्दकोशमा उपलब्ध सबै पदावली प्रयोग गर्दछन्। कहिल्यै सुलह नहुने नेकपाको रडाकोका कारण अन्तरपार्टी बहसलाई अहिले बाझाबाझले प्रतिस्थापन गरेको छ। ओली दाहाललाई ‘फटाहा’ र ‘जाली’ भन्छन् भने दाहाल पनि ओलीलाई ‘महाफटाहा’ र ‘महाजाली’ को हाजिरीजवाफ पेश गर्दछन्।
ओलीको असहिष्णुता त त्यतिबेला पराकाष्ठामा पुगेको थियो, जतिबेला उनले उपचारनिम्ति सिंगापुर प्रस्थान गर्नुपूर्व पार्टीका अर्का वरिष्ठ नेता माधवकुमार नेपालको स्वास्थ्यलाभको शुभकामना अस्वीकार गर्दै ‘तपाईंको शुभकामना मलाई चाहिंदैन, तपाईं मलाई मरोस् भन्ने चाहनुहुन्छ’ भन्ने जवाफ फर्काउन पुगेका थिए।
अहिलेको नेपाली राजनीतिको केन्द्रमा सौम्य नभएर अहंकारी र आत्ममुग्धकारी नेतृत्वको वर्चश्व छ। असहिष्णु र अशिष्ट गुटको स्वरुपमा रहेको सत्ता राजनीतिको यो ‘न्युक्लियस’ सार्वजनिक मञ्च र सामाजिक सञ्जालमार्फत आफ्ना विपक्षी एवं आलोचकको मानमर्दनमा न्वारानदेखिको बलले लागिरहेको छ।
आजको नेपालका शीर्ष नेतृत्वको लवज र भावभङ्गिमा पँधेराको कलहलाई माथ गर्ने प्रकारको छ। नेताहरूबीच अब केही बाँकी छ भने, पाखुरा सुर्किने र लोप्पाबाजी मात्र हो। नेपाली राजनीति यस प्रकारको अशिष्ट कहिल्यै थिएन। विगतमा राजनीतिक मतभिन्नता रहँदारहँदै पनि नेताहरूले आफ्ना विरोधीप्रति न्यूनतम सम्मान राख्दथे।
आधुनिक नेपाली राजनीतिमा सबैभन्दा कट्टर दुश्मनका रूपमा राजा महेन्द्र र बीपी कोइरालालाई चित्रित गरिन्छ। आफूलाई अपदस्थ गरेर काराबास पठाउने महेन्द्रप्रति बीपी कहिल्यै व्यक्तिगत सत्तोसरापमा ओर्लिएको थाहा छैन। त्यस्तै रवैया राजा महेन्द्रको पनि थियो। नेपाली कांग्रेसभित्रै पनि बीपी र सुवर्णशमशेरबीच, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाबीच र गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईबीच विचार, व्यवहार र व्यक्तित्वको टक्कर भइरहन्थ्यो। तर, उनीहरू कहिल्यै व्यक्तिगत मानमर्दन र सत्तोसरापमा उत्रिएनन्।
अहिले पनि कांग्रेस, सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच स्पष्ट रूपमा विभाजित छ। आफ्ना धेरै असहमतिका वाबजूद पनि पौडेलले भर्खर मात्र देउवाको स्वभाव कम्तीमा पनि ओलीको जस्तो दम्भकारी छैन भन्दै प्रशंसा गरे। त्यो पक्कै पनि राजनीतिक चरित्र हो। पार्टीभित्रको विवाद पार्टीका वैधानिक कमिटीभित्र निरुपण गर्नुपर्दछ। तर, आफ्नो विरोध हुने डरले कमिटीहरूको बैठकै नबोलाउने र बहिष्कार गर्ने, आलोचकहरूलाई ‘हुल्लडवाज’ भन्ने कदापि राजनीतिक चरित्र होइन।
नाङ्गै हिंड्ने रहर
शरीर जति नै सुन्दर वा सुगठित भए पनि नग्न हिंड्न मिल्दैन। सिद्धान्त वा वाद जति नै अग्रगामी वा प्रगतिशील दाबी गरिए पनि नीतिबेगरको राजनीति व्यक्तिवादी हुन्छ। अझ, निष्ठाच्यूत राजनीतिज्ञ नग्न व्यक्तिसरह हुन्छ। तिनका बोली र वचन जति नै चर्को सुनिए पनि अन्तर्य खोक्रो हुन्छ। जब नेताले चरित्र गुमाउँछ, रत्नपार्कमा यौनवद्र्धक चूर्ण बेच्ने चटके र ऊबीच कुनै तात्विक भिन्नता रहँदैन। आजका नेपाली राजनीतिज्ञ नेताबाट अभिनेता र अभिनेताबाट अझ विदूषकमा रूपान्तरित हुँदैछन्।
यती, ओम्नी, सेक्युरिटी प्रेस खरीदको अनियमितताको प्रश्न जब उठ्छ, हाम्रा प्रमको रक्तचाप एकाएक बढ्दछ। संसदीय समितिले समेत सन्देहको घेरामा पारिसकेका ती संस्था वा व्यक्तिको बचाउमा प्रम उत्रिएको दृश्य देख्नेहरू लाजले भुतुक्क हुँदै जिब्रो टोक्न पुग्दछन्।
कथा हालेर कथन पेश गर्ने प्रम ओलीले डेनिश लेखक ह्यान्स क्रिश्चियन एन्डरसनको प्रसिद्ध कथा ‘एम्पेरर्स न्यू क्लथ्स’ पढेका (वा कम्तीमा पनि सुनेका) छैनन् भनेर अनुमान गर्न सकिंदैन। एकपछि अर्को ‘डेलिभरी’ मा चुक्दै अकर्मण्य बन्दै गइरहेको ओली नेतृत्वको शासनलाई चाटुकार र सल्लाहकारहरूले ‘राम राज्य’ को जति नै छद्म पहिरनले ढाक्ने यत्न गरे पनि त्यो एन्डरसनको कथाको राजा झैं नग्न छ। विडम्बना के मात्र हो भने, जब नाङ्गो मान्छे सडकमा हिंड्दछ, देख्नेहरू लाजले आँखा छोप्न बाध्य हुन्छन्। यती, ओम्नी, सेक्युरिटी प्रेस खरीदको अनियमितताको प्रश्न जब उठ्छ, हाम्रा प्रमको रक्तचाप एकाएक बढ्दछ। संसदीय समितिले समेत सन्देहको घेरामा पारिसकेका ती संस्था वा व्यक्तिको बचाउमा प्रम उत्रिएको दृश्य देख्नेहरू लाजले भुतुक्क हुँदै जिब्रो टोक्न पुग्दछन्। र, संसद्को प्रश्नोत्तर सत्रमा प्रतिपक्षको प्रश्नलाई उनी ‘निम्छरा प्रश्न’ भन्दै संसदीय परम्पराको हुर्मत लिन अलिकति पनि धक मान्दैनन्।
कुनै दुर्घटना भएन भने बालिग नेपालीहरूले दुई वर्ष पछि मतदान गर्नेछन्। जुन बेला सरकारको डेलिभरीको सीधा हिसाब–किताब जनताले गर्नेछन्। तर त्योभन्दा गम्भीरचाहिं, नेपाली राजनीतिज्ञले गुमाएको चरित्र कसरी मर्यादित गर्ने भन्ने हो। आफ्ना साना केटाकेटीलाई आफ्ना नेताहरूको चरित्रको औचित्य कसरी पुष्टि गर्ने भन्ने हो। किनकि, आफैं नसच्चिने नेताहरूलाई सच्याउने जिम्मेवारी पनि जनताकै हो।