५०० जना पर्यटन व्यवसायीलाई भर्चुअल तालिम दिंदै पर्यटन बोर्ड
नेपाल पर्यटन बोर्डले पाँच सयभन्दा बढी पर्यटन व्यवसायीलाई डिजिटल माध्यमबाट तालिम दिने भएको छ। कोरोनाभाइरस महामारीको जोखिमका कारण डिजिटल माध्यमबाटै पर्यटन प्रवर्द्धनका लागि तालिम दिन लागिएको बोर्डका सहप्रवक्ता मणिराज लामिछानेले बताए।
लामिछानेले भने, "१० मंसीरदेखि पर्यटन प्रवर्द्धन गर्न डिजिटल माध्यमको प्रयोग तथा यसको प्रभावकारितासहितका विषयमा भर्चुअल माध्यमबाट तालिम दिन लागिएको हो।"
तालिमपछि पर्यटन व्यवसायीले डिजिटल माध्यमको अधिकतम उपयोग गरेर आआफ्नो व्यवसाय प्रवर्द्धन गर्न सक्ने अपेक्षा बोर्डको छ।
बोर्ड हरेक वर्ष अन्तर्राष्ट्रिय पर्यटन बजारमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदै आए पनि यो वर्ष भने अन्तर्राष्ट्रिय सम्मेलनमा पनि भर्चुअल माध्यमबाटै उपस्थिति जनाइरहेको छ। बोर्डले अन्तर्राष्ट्रिय बजारमा गर्ने पर्यटन प्रवर्द्धन पनि डिजिटल माध्यमबाटै गर्ने गरी चालू आर्थिक वर्षको बजेटको प्राथमितामा राखेको छ।
बोर्डले वेबसाइटबाटै पर्यटन प्रवर्द्धन र मार्केटिङ गर्ने तयारी गरेको छ। बोर्डका सहप्रवक्ता लामिछानेका अनुसार, बोर्डको वेबसाइटलाई अन्तर्राष्ट्रिय बुकिङ पोर्टलमा रुपान्तरण गर्ने गरी काम भइरहेको छ।
बोर्डले यसअघि कोभिड १९ पछिको पर्यटन क्षेत्र खुला गर्दा अपनाउनुपर्ने आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्डबारे करीब ६ सय जनालाई भर्चुअल माध्यमबाटै तालिम दिएको थियो।
बोर्डका आधाजसो कर्मचारीलाई कोरोना संक्रमण भएका कारण बोर्डको काम प्रभावित भएर पर्यटन प्रवर्द्धनमा पनि असर पुगेको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीसहित १७ जनालाई संक्रमण देखिएपछि बोर्डको काम प्रभावित हुन पुगेको हो।