बैतडीमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु
दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति यात्रुबस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ।
दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि गुडेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो।
बस ६०० मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन्। जसमध्ये सात जनाको पहिचान खुलेको छ।
मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की कृतिका कार्की, बैतडीको डोगडाकेदार गाउँपालिकाका ६ का प्रहरी जवान रणबहादुर चन्द तथा ठेगाना नखुलेका नरेन्द्र चौधरी, जगन्नाथ ओझा, विमल बडु र तारा गिरी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ। बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रनाउ अधिकारीले जानकारी दिए। प्रहरी र स्थानीयवासी मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो।
मृतकमध्ये आठ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससँगै अड्किएकाले आज दिउँसो निकालिने प्रहरीले बताएको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रनाउ अधिकारीले बताए।
दुर्घटनाको कारण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।