काठमाडौंपछि पोखरा कोरोेनाको ‘हटस्पट’ बन्ने जोखिम, कास्कीमा संक्रमणदर ४३ प्रतिशत
कोभिड–१९ संकट व्यवस्थापन संञ्चालन केन्द्र (सीसीएमसी)ले १२ कात्तिकमा दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाली टेलिकम र एनसेलसँगको सहकार्यमा दशैं शुरू हुनुभन्दा दुई हप्ताअघिसम्म काठमाडौं उपत्यका छोडेर विभिन्न जिल्लामा गएका कम्तिमा एक लाख मानिसको आवतजावतका बारेमा विश्लेषण गरेको तथ्यांक सार्वजनिक गर्यो।
सीसीएमसीले सार्वजनिक गरेको तथ्यांक विश्लेषणबाट दशैंका लागि काठमाडौं छोडेर जानेहरूको संख्या सबैभन्दा बढी काभ्रेको धुलिखेल र नमोबुद्ध, मकवानपुरको थाहा र मनहरी नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची र सुनकोशी, बाराको परवानीपुर, चितवनको भरतपुर, कास्कीको लेखनाथ लगायतका ठाउँमा रहेको देखिएको थियो।
यी ठाउँहरूमा काठमाडौं छोडेर जानेहरूको संख्या अन्य ठाउँको तुलनामा धेरै भएकाले सिसिएमसीले कोरोना संक्रमणको ‘अति उच्च जोखिम’मा राखेको थियो।
सीसीएमसीले काठमाडौं छाडेर जानेहरूले प्रयोग गरिरहेको मोबाइलबाट उनीहरू लामो समयसम्म रहेको स्थान ‘ट्रेस’ गरेर कोरोना संक्रमणको जोखिम अनुमान गरेको हो।
उक्त तथ्यांक सीसीएमसीले अती उच्च जोखिम देखिएका ठाउँका स्थानीय तहलाई पठाएर कोरोना परीक्षण र कट्याक्ट ट्रेसिङ बढाउन अनुरोध गरेको थियो।
सीसीएमसीले तथ्यांक सार्वजनिक गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नियमित दैनिक विवरण अनुसार पोखरामा कोरोना संक्रमितहरूको संख्या बढी देखिन थालेको छ।
स्वास्थ्य मन्त्रालयले २६ कात्तिकमा सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कास्की जिल्लामा १३० कोरोना संक्रमित भेटिएका थिए।
जबकी गण्डकी प्रदेशभरी त्यो दिन २१३ कोरोना संक्रमित भेटिएका थिए। पछिल्लो २४ घण्टामा ९४८ जनाको कोरोना परिक्षण गर्दा २१३ संक्रमित भेटिएका हुन्। यस अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणदर २२.४६ प्रतिशत थियो।
संक्रमणदर एक दिनको अन्तरमा ७ प्रतिशतका दरले बढेको देखिएको छ।
स्वास्थ्य मन्त्रालयको २७ कात्तिकको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कास्की जिल्लामा ७१ जना कोरोना संक्रमित भेटिएकामा गण्डकी प्रदेशभरी १९३ जना कारोना पोजीटिभ भेटिए।
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गण्डकीमा पछिल्लो २४ घण्टामा ६४७ जनाको कोरोना परिक्षण भएको थियो । यस अनुसार बिहिवार गण्डकी प्रदेशको कोरोना संक्रमणदर २९. ८२ प्रतिशत देखिएको छ।
२७ कात्तिकमा कास्की जिल्लामा मात्र पछिल्लो २४ घण्टामा १६५ जनाको कोरोना परीक्षण भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयको २७ कात्तिकको तथ्यांक अनुसार यीमध्ये ७१ जनामा कोरोना देखिएको थियो। यो तथ्यांक अनुसार बिहीबार कास्की जिल्लामा कोेरोना संक्रमणदर ४३ प्रतिशत देखिएको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कास्की जिल्लामा मात्र यसअघि २५ कात्तिकमा ९४ जना, २४ कात्तिकमा १५१ जना, २३ कात्तिकमा ८४ जना, २२ कात्तिकमा ८२ जना, २१ कात्तिकमा १२९ जना, २० कात्तिकमा १२३ जना र १९ कात्तिकमा १९८ जना कोरोना संक्रमित भेटिए।
यस्तै, १८ कात्तिकमा ६३, जना १६ कात्तिकमा १५४ जना, १५ कात्तिकमा १०९ जना, १४ कात्तिकमा ११२, १३ कात्तिकमा ७६ जना, १२ कात्तिकमा ९९ जना, १० कात्तिकमा १०१ र ५ कात्तिकमा १७५ जना कोरोना संक्रमित भेटिएका थिए।
कास्कीमा कात्तिकअघि कोरोना संक्रमितको संख्या एकै दिन सय नाघ्ने क्रम एकदमै कम थियो। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ५०० भन्दा बढी कोरोना संक्रमितको उपचार भइरहेका १४ जिल्लामा कास्की पनि पर्छ।
२७ कात्तिकसम्मको तथ्यांक अनुसार पोखरा जिल्ला पर्ने गण्डकी प्रदेशमा कोरोनाका सिकिस्त ६९ जना संक्रमितको आईसीयु र ११ संक्रमितको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ। बागमती प्रदेशपछि सबैभन्दा धेरै गण्डकी प्रदेशमा नै कोरोनाका सिकिस्त बिरामीलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। २७ कात्तिकसम्ममा गण्डकी प्रदेशमा कारोनाका सक्रिय संक्रमितको संख्या ३११६ छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुुसार गण्डकी प्रदेशमा १७६६ कोरोना संक्रमित घरमै छन्, भने १३५० संस्थागत आइसोलेसनमा छन्। गण्डकीको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्मा संघीय मन्त्रालयको निर्देशिका अनुसार अब कट्याक्ट ट्रेसिङ भन्दा पनि होम आइसोलेसनलाई व्यवस्थित गर्ने, हाइफ्लो अक्सिजनसहितको संरचना बनाउने र अस्पतालमा वेडको व्यवस्थापन गर्ने काम भइरहेको बताउँछन्। डा. शर्माका अनुसार निर्देशिका अनुसार कोरोना परिक्षण लक्षण देखिएका व्यक्तिमा मात्र गर्ने काम भइरहेको छ। “दशैँमा भएको आवतजावतले गर्दा गण्डकी प्रदेशमा कोरोना संक्रमण दर अझै बढ्ने देखिएको छ। यसका लागि आवश्यक तयारी गरिरहेका छौँ”, उनी भन्छन् ।