'भिटामिनको जथाभावी प्रयोग घातक'
कोरोनाभाइरस संक्रमणबाट बच्न प्रतिरक्षा प्रणाली बलियो बनाउने नाममा भिटामिनका ट्याब्लेट खानेहरुको संख्या बढ्दो छ। पोषणविद्हरू भने भिटामिनको जथाभावी प्रयोगले स्वास्थ्यमा असर पर्न सक्ने बताउँछन्।
कोरोनाभाइरस संक्रमणको महामारीले अहिले सबैलाई अत्याएको छ। खोप पत्ता लागिनसकेको अवस्थामा मानिसहरूले रोगबाट बच्न र यस विरुद्ध लड्न आहारविहारका अनेक उपाय अपनाइरहेका छन्। शरीरको प्रतिरक्षा प्रणाली बढाउन पोषिलो खानेकुरा तथा पूरक रुपमा भिटामिनको प्रयोग बढिरहेको छ।
अहिले जिङ्क, भिटामिन डी, भिटामिन सी, क्याल्सियम जस्ता तत्व शरीरमा आपूर्ति गर्न पूरक रुपमा ट्याब्लेटहरू खाने र सिफारिश गर्नेहरुको संख्या बढ्दो छ। तर, यसरी प्रतिरक्षा प्रणाली बढाउने भनेर अत्यधिक खाना खाने, आफूखुशी भिटामिनका ट्याब्लेट खाने गर्दा मोटोपन, कोलेस्ट्रोल, कार्डियाक अरेस्ट जस्ता समस्या निम्तिन सक्ने पोषणविद्हरु बताउँछन्।
पोषणविद् किरण अधिकारी यस्ता ट्याब्लेट खाँदा स्वास्थ्यकर्मी तथा पोषणविद्हरुको सुझाव लिनुपर्ने बताउँछन्। “भिटामिन लगायतका ट्याब्लेटहरूको सेवन फाइदाजनक भए पनि आवश्यकता भन्दा बढी प्रयोग गरे नकारात्मक असर देखिन सक्छ।”
प्रतिरक्षा प्रणाली बढाउने भनेर अत्यधिक खाना खाने, आफूखुशी भिटामिनका ट्याब्लेट खाने गर्दा मोटोपन, कोलेस्ट्रोल, कार्डियाक अरेस्ट जस्ता समस्या निम्तिन सक्ने पोषणविद्हरु बताउँछन्।
अधिकारीका अनुसार, अहिले शरीरमा प्रतिरक्षा प्रणाली बलियो बनाउनुको विकल्प नभएकाले भिटामिन डी, भिटामिन सी, फाइबर, प्रोटिन, आइरनयुक्त खानेकुरा सेवनमा जोड दिनुपर्छ। तर, ट्याब्लेटको विकल्पमा हाम्रो भान्साबाटै ती तत्वको आपूर्ति गर्न सकिने उनको भनाइ छ। “हाम्रो भान्सामा पाक्ने हरेक चीजबाट शरीरका लागि आवश्यक तत्व पाउन सकिन्छ”, उनी भन्छन्, “तरकारी र दाल पकाउँदा विभिन्न किसिमका तरकारी र गेडागुडी समावेश गरे पोषणको मात्रा पर्याप्त पाइन्छ।”
शरीरमा आवश्यक भिटामिन, क्याल्सियम, फाइबर, आइरनको मात्रा पूरा गर्न विभिन्न किसिमका सागसब्जी नै भरपूर हुने पोषणविद्हरू बताउँछन्। उनीहरूका अनुसार, सागसब्जीको नियमित सेवन र क्वाँटी साताको दुई दिन खानु उचित हुन्छ। दालमा चना, मुङ, रहर, मुसुरो र मासको मिश्रण, तरकारीमा भटमास र गुन्द्रुक तथा काउली, आलु, सिमी, ब्रोकाउली, मुला लगायत मिसाएर खाएर आवश्यक पोषण प्राप्त हुन्छ। प्रोटिनका लागि अण्डा, माछा, मासु, दूध, दही, मोही, घ्यूको मात्रा मिलाएर खानुपर्छ।
पोषणविद् अधिकारी भन्छन्, “गुन्द्रुक र भटमासको तरकारी खाँदा प्रोटिन, भिटामिन सी, फाइबर, आइरन, बी कम्प्लेक्सको काम गर्छ।”
“हामीले खाने खानामा शरीरलाई आवश्यक भिटामिनहरु पर्याप्त पाइन्छ। त्यसैलाई मिलाएर खान जान्यो भने ट्याब्लेट खानुपर्दैन।” - विनिता पन्त, पोषणविद्
अल्का अस्पतालमा कार्यरत पोषणविद् विनिता पन्त पनि भान्सामा पाक्ने खानेकुरा मिलाएर खाए पूरक ट्याब्लेट खानु नपर्ने जिकिर गर्छिन्। भन्छिन् “हामीले खाने खानामा शरीरलाई आवश्यक भिटामिनहरु पर्याप्त पाइन्छ। त्यसैलाई मिलाएर खान जान्यो भने ट्याब्लेट खानुपर्दैन।” पछिल्लो समय प्रतिरक्षा प्रणाली बढाउने नाममा आफूखुशी भिटामिनका ट्याब्लेट प्रयोग गर्नेको संख्या बढेको उनी बताउँछिन्।
कुन खानेकुरा कति खाने ?
वयस्क शरीरमा दैनिक ७५ ग्राम प्रोटिन आवश्यक पर्छ। एउटा अण्डामा ४५ देखि ५० ग्रामसम्म प्रोटिन पाइन्छ। त्यसैले दैनिक एउटा अन्डा खाँदा र बाँकी विभिन्न तरकारी, फलफूलबाट शरीरलाई आवश्यक प्रोटिन प्राप्त गर्न सकिन्छ।
भिटामिन सीका लागि दिनको एउटा कागती खाने, अमला खाने गर्न सकिन्छ। भिटामिन सी पाइने सुन्तला क्याल्सियमको पनि स्रोत हो। भिटामिन डीको मुख्य स्रोत सूर्यको किरण नै हो। यसका लागि बिहानको घाममा कम कपडा लगाएर बस्नुपर्छ। यस्तै, माछा, दूध, च्याउ आदि खानेकुरा खान सकिन्छ। हरियो साग, फलफूल नियमित खानुपर्छ।
जिंक वयस्क पुरुषका लागि दैनिक ११ ग्राम र महिलाको लागि ८ ग्राम आवश्यक पर्छ। यसका लागि भने खाना मात्रै पर्याप्त नहुँदा पूरकको रुपमा ट्याब्लेट प्रयोग गर्न सकिन्छ।
शरीरमा आवश्यकता भन्दा बढी यस्ता पूरक ट्याब्लेटहरु प्रयोग गर्दा समस्या हुनसक्ने भएकाले दिनदिनै खाने वा कति दिन बिराएर खाने भन्नेमा सम्बन्धित विज्ञको सल्लाह लिनुपर्ने पोषणविद्हरु बताउँछन्।
उदाहरणका लागि, जिङ्क वयस्क पुरुषका लागि ११ एमजी र महिलालाई ८ एमजी आवश्यक पर्छ। तर बजारमा पाइने ट्याब्लेटहरु १० एमजी र २० एमजीको मात्रै हुन्छ। हामीले खानेकुराबाट प्राप्त गरेको र पूरक ट्याब्लेट खाँदा आवश्यकता भन्दा बढी हुन जान्छ। त्यसैले यस्तो ट्याब्लेट दिन बिराएर मात्रै प्रयोग गर्नुपर्ने पोषणविद्हरू सुझाउँछन्।
भिटामिन सी वयस्क शरीरलाई दैनिक ४० एमजी आवश्यक पर्छ। त्यस्तै, भिटामिन ई वयस्क शरीरलाई दैनिक १५ एमजी आवश्यक पर्छ। बजारमा पाइने पूरक ट्याब्लेट ४०० एमजीको हुन्छ। यो कम्तीमा पनि १५ दिनको फरकमा लिनुपर्ने हुन्छ।