राजनीतिक क्षेत्रमा प्राप्त उपलब्धिको भविष्य आर्थिक क्षेत्रसँग जोडिएको छः अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णु पौडेलले राजनीतिक क्षेत्रमा प्राप्त उपलब्धिहरूको भविष्य आर्थिक क्षेत्रसँग जोडिएको बताएका छन्। निर्यात व्यवसायी महासंघ नेपालका प्रतिनिधिहरूसँगको भेटमा अर्थमन्त्री पौडेलले आर्थिक क्षेत्र सबल बनाउन सकेमात्रै राजनीतिक उपलब्धिहरूको रक्षा गर्न सम्भव हुने बताए।
राजनीतिक उपलब्धिहरूमा मात्रै गौरव नगरी उत्पादनमा वृद्धि, रोजगारीका अवसर सिर्जना गरी सुदृढ अर्थतन्त्र निर्माण गर्नुपर्ने उनले बताए। रोजगारी सिर्जना र उत्पादनमा वृद्धि गरी आर्थिक क्षेत्र सबल र शक्तिशाली बनाउनु अहिलेको साझा विषय भएको उल्लेख गर्दै उनले भने, “आर्थिक क्षेत्रमा गर्ने उपलब्धिहरूको जगमा विगतमा प्राप्त गरेका राजनीतिक उपलब्धिहरूको भविष्य निर्भर छ। त्यो मैले महसुस गरेको छु। त्यो सँगै उत्पादन वृद्धि, रोजगारी सिर्जना, सबल र शक्तिशाली अर्थतन्त्रको निर्माण अहिलेको साझा राष्ट्रिय सरोकारको विषय हो।”
मन्त्री पौडेलले सरकार र निजी क्षेत्र एउटै डुंगाका यात्री हुन् भन्ने मान्यताका साथ अगाडि बढ्ने प्रतिवद्धता पनि जनाए।
महासंघले उत्पादन वृद्धिका लागि जमिन, भूमि भाडामा ल्याउन छुट्टै कानून ल्याउनुपर्ने माग गरेको छ। यस्तै वन क्षेत्र, प्रयोगविहीन सरकारी जग्गाहरूको उपभोगका लागि लिन कानूनको आवश्यकता रहेको पनि महासंघले बताएको छ।
निर्यातजन्य उद्योगलाई निर्यातमा पुनर्कर्जा दिने स्पष्ट भएपनि व्यवसायीहरूले सुविधा नपाएको गुनासो गरेका छन्। पुनर्कर्जाको समयावधि पनि थप तीन वर्ष गरिनुपर्ने महासंघको माग छ।
निर्यात उद्योगका लागि ल्याइने कच्चा पदार्थ पश्मिना, धागोमा भन्सार दस्तुर १ प्रतिशत शुल्क गरिएकोमा सो अनुसार भन्सार महसुल उद्योगहरूले सुविधा पाएको र ट्रेडिङ हाउसलाई पनि सोही अनुसार कायम गर्नुपर्ने लगायत मागपत्र महासंघले अर्थमन्त्रीलाई बुझाएको छ।