राजाको अगाडि प्रधानन्यायाधीशलाई आच्छुआच्छु !
राष्ट्रिय कांग्रेसका नेता हृषीकेश शाहले अदालतको मानहानि गरेको अभियोगमा मुद्दा चलाउँदै प्रधानन्यायाधीशले डा. डिल्लीरमण रेग्मी लगायतलाई जेल सजाय गरेपछि यसको तरंग दरबारसम्म पुगेको थियो।
‘न्यायाधीश र अदालतले कानमा तेल हालेर बसेको छ’ भन्दा अदालतको मानहानि हुन्छ वा हुँदैन भन्ने विवाद उठेछ। यो २०११ सालताकाको कुरा हो। अन्ततः यो विषय पेचिलो बनेर राजा त्रिभुवनसम्म पुग्यो।
नेपाली राष्ट्रिय कांग्रेसको बुलेटिनमा छापिएको एउटा समाचारमा त्यसै पार्टीका नेता हृषीकेश शाहले ‘मेरो मुद्दा टाइममा नलिई न्यायाधीश र अदालतले कानमा तेल हालेर बसेको छ’ भनेका कुरा लेखिएको रहेछ।
त्यसप्रति आपत्ति प्रकट गर्दै तत्कालीन प्रधानन्यायाधीश हरिप्रसाद प्रधानले शाहलाई प्रधान न्यायालयमा बोलाएर सोधेछन्, “त्यस्तो नभएको कुरा किन छापेको ?”
शाहले ‘किन र कसरी छापियो, मलाई थाहा छैन’ भन्ने जवाफ दिएछन्।
त्यसको केही दिनपछि सो पार्टीका सभापति डा. डिल्लीरमण रेग्मी, नेता शंकरप्रसाद शर्मा, पार्टीका प्रचार विभाग प्रमुख तेजकान्त सिलवाल र बुलेटिन छाप्ने पशुपति छापाखानाका नरदेव पाण्डेलाई अदालत बोलाइएछ। शंकरप्रसाद भने पुर्जीमा भाषा अस्पष्ट र अदालतको छाप पनि नभएको भनी गएनछन्।
अड्डा बस्नासाथ प्रधानन्यायाधीश प्रधानले बयानका क्रममा च्याँट्ठिंदै शाहसँग सोधेछन्, “कानमा तेल हालेर बसेको खबरको खण्डन छाप्छु भन्नुभएको थियो, के भयो ?”
शाहले भने, “मैले त के भएको थाहा छैन, बुझुँलासम्म पो भनेको थिएँ।”
शाहको यो जवाफ सुनेपछि प्रधानन्यायाधीश झन् झर्केछन्, “त्यसो भए के मैले झूटो बोलें?”
शाहले पनि जवाफ दिएछन्, “साँचो बेल्नुभो वा झूटो बोल्नुभो, यहाँ केही भन्न चाहन्नँ। यसको जवाफ म अदालत बाहिर नै गएर यथा समयमा दिउँला।”
प्रधानन्यायाधीश प्रधानले आफ्ना कर्मचारीलाई यी सबै कुरा टिपोट गर्न भनेछन्।
शाह छुटे, रेग्मी थुनिए
अब बयान दिने पालो आयो, पार्टी अध्यक्ष डा. रेग्मीको। रेग्मीले पार्टीको बुलेटिनमा छापिएका सबै कुरामा जस्तै शाहको भनाइप्रति पनि आफ्नो पूर्ण जिम्मेदारी रहेको बताए।
डा. डिल्लीरमण रेग्मीले हृषीकेश शाहसँग कुराकानीको क्रममा ‘प्रधानन्यायाधीशले शाहजीलाई स्वाद चखाउने भए’ भन्ने जस्ता कुरा गरेछन्। रेग्मीजीलाई आफू थुनिनुपर्ला भन्ने शंका समेत थिएन। तर, प्रधानन्यायाधीशले शाह बाहेक डा. रेग्मी, तेजकान्त र नरदेव तीनै जनालाई जनही १८ महीना जेल र २/२ हजार रुपैयाँ जरिवाना गरेको फैसला सुनाएछन्।
रेग्मीले कानमा तेल हालेको कुरा अपमानजनक होइन र अदालतको मानहानि गर्ने शाहजीको आशय पनि थिएन भन्ने स्पष्टीकरण दिए।
बयान लम्बिएछ।
चिया ब्रेकमा शाहलाई लिएर डा. रेग्मी खाना खान न्यूरोड प्युखा टोलस्थित आफ्नो डेरामा गए। खाना खाँदै गफका क्रममा रेग्मीले ‘प्रधानन्यायाधीशले शाहजीलाई स्वाद चखाउने भए’ भन्ने जस्ता कुरा गरेछन्। रेग्मीजीलाई आफू थुनिनुपर्ने हो कि भन्ने शंका समेत रहेनछ।
शाह र रेग्मी खाना खान गएका बेला प्रधानन्यायाधीश प्रधानले फैसला तयार गरेछन्। शाह बाहेक डा. रेग्मी, तेजकान्त र नरदेव तीनै जनालाई जनही १८ महीना जेल र २/२ हजार रुपैयाँ जरिवाना गरेको फैसला सुनाएछन्। फैसलापछि बाहिर ठीक पारेको मोटरमा राखी सरासर जेल चलान गरेछन्। बयान दिन मात्र हाजिर हुने गरेका शाह भने थुनिनु परेन।
शाहलाई झूटो बोलेको र शंकरप्रसादलाई बेकाइदा वा बेठीक काम गरेकोमा भोलिपल्ट प्रधान न्यायालयमा हाजिर हुन आदेश दिइएछ।
प्रधानन्यायाधीशमा हरिप्रसाद प्रधान आउनुअघिकै कुरा हो, बल्लभशमशेर राणा कायम मुकायम प्रधानन्यायाधीश छँदा हृषीकेश शाहलाई डीआईजीले पक्राउ गरेछन्। भोलिपल्ट डीआईजीले अब तपाईं छुट्नुभो, घर जान सक्नुहुन्छ भने। तर, शाह कानूनका समेत जानकार थिए। उनले भनेछन्, “तपाईंले मन लागे थुन्ने, मन लागे घर जा भन्ने अधिकार कहाँबाट पाउनु भो ? के म भेडाबाख्रा हो र?”
प्रधानन्यायाधीशले तारेखमा छोडे मात्र निस्किन्छु भनेर अड्डी कसेछन्। त्यसपछि कामु प्रधानन्यायाधीशले तारेखमा छोडेछन्।
‘गगनसिंहका छौडाहरूले मुलुकलाई कहाँ पुर्याउने हुन् !’
‘कानमा तेल हालेको’ मुद्दामा जब रेग्मीहरू थुनिए, तब हृषीकेश शाहले इन्साफ माग्न राजा त्रिभुवनसँग दर्शनभेट मागेछन् र पाएछन् पनि। शाह, कीर्तिनिधि विष्ट र शंकरप्रसाद शर्मा दरबार पुगे। एकछिन कुर्नुपर्यो। गृहमन्त्री सूर्यप्रसाद उपाध्याय भित्रबाट निस्केपछि शाहहरूलाई बोलाइयो।
त्रिभुवनले सबैसँग बडो प्रजातान्त्रिक व्यवहार गर्थे रे। साधारण मान्छे जाँदा पनि बसिरहेको ठाउँबाट उठ्ने रे। हृषीकेश शाह दरबारमा पुग्दा राजा र प्रधानन्यायाधीश उभिएर आफू बसेकै कौचमा बस्न संकेत गरेछन्। शाहले ठट्यौली शैलीमा राजालाई भनेछन्, “सरकारको साथमा प्रधानन्यायाधीश नै बसेको शोभा हुन्छ।”
त्रिभुवन र प्रधानन्यायाधीश एउटै कौचमा बसेका रहेछन्। शाहले ज्ञानगुनका कुरा पत्रिकामा लेखेको संस्मरण अनुसार, त्रिभुवनले सबैसँग बडो प्रजातान्त्रिक व्यवहार गर्थे रे। राजा भए पनि साधारण मान्छे जाँदा बसिरहेको ठाउँबाट उठ्ने रे।
राजा र प्रधानन्यायाधीश उभिएर शाहजीलाई आफू बसेकै कौचमा बस्न संकेत गरेछन्। शाहले ठट्यौली शैलीमा राजालाई भनेछन्, “सरकारको साथमा प्रधानन्यायाधीश नै बसेको शोभा हुन्छ।”
कुराकानीको क्रममा राजाले भनेछन्, “तपाईंहरूले गालीगलौजको भाषामा नभएका कुरा बुलेटिनमा छापेर प्रचार गरेको भन्ने आशयका धेरै बेनामी चिठी मकहाँ आउँछन्।”
तब शाहले भनेछन्, “सरकारकहाँ बेनामी चिठी आउँदा रहेछन्। हामीकहाँ त बुलेटिनमा छाप्न भनी नाम, ठेगानासहित मन्त्रीहरूले गति छाडेको, ऐन कानून नाघेर काम गरेका कुरा सयौं चिठी हरेक साता आउँछन्।” उनले हुकुम भए त्यस्ता सयौं चिठी आफूले पेश गर्न सक्ने पनि बताएछन्।
राजासामु प्रधानन्यायाधीशको राजीनामा मागियो
त्यही भेटमा त्रिभुवन शंकरप्रसादसँग रिसाएछन्। शंकरप्रसादले लैनचौरमा गरेको भाषणमा गगनसिंहका छौडाहरूले मुलुकलाई कहाँ पुर्याउने हो भनी भाषण गरेका थिए। त्यसैप्रति इंगित गर्दै राजाले रिसाउँदै भनेछन्, “तपाईंले मेरा मरेका पुर्खाहरूलाई पनि सार्वजनिक रूपमा उड्काउन छोड्नुभएको छैन।”
शंकरप्रसादले माफी मागेछन्। राजाको रिस उत्रिएछ।
कानूनमा बेथिति गरेको स्वीकारेका प्रधानन्यायाधीशसँग हृषीकेश शाहले राजाका मुखेञ्जी सशक्त प्रश्न गरेछन्। प्रधानन्यायाधीशलाई आच्छुआच्छु पार्ने गरी उनले भनेछन्, “इन्साफमा बेइन्साफी भयो भने राज्य सञ्चालनमा नै बाधा पुग्ने हुनाले यस परिस्थितिमा तपाईंले श्री ५ का हजूरमा आफ्नो पदबाट राजीनामा चढाएर मौसूफको अभिभारा हलुका पारिदिनु नै सर्वोत्तम हुनेछ।”
त्यसपछि बल्ल विषय प्रवेश गर्दै राजाले आउनुको कारण शाहजीलाई सोधेछन्। शाहले रेग्मीको मुद्दा उठाएछन् र सामुन्नेमा बसेका प्रधानन्यायाधीशलाई ठाडै सोधेछन्, “तपाईंले अघिल्लो दिन फैसला सुनाइसकेपछि भोलिपल्ट मात्र अन्तरिम विधानको प्रधान न्यायालयलाई अदालतको मानहानिमा सजाय गर्ने अधिकार छ भन्ने दफाको बुँदा थप्नुभएको हो कि होइन ?”
प्रधानन्यायाधीशले त्योे कुरा स्वीकार गरेछन्। कानूनमा बेथिति गरेको स्वीकारेका प्रधानन्यायाधीशसँग हृषीकेशले राजाका मुखेञ्जी सशक्त प्रश्न गरेछन्। प्रधानन्यायाधीशलाई आच्छुआच्छु पार्ने गरी उनले भनेछन्, “ऐनमा नटेकेर तपाईंले कुर्सीको मर्यादाको उल्लंघन गरिसक्नुभएको छ। इन्साफमा बेइन्साफी भयो भने राज्य सञ्चालनमा नै बाधा पुग्ने हुनाले यस परिस्थितिमा तपाईंले श्री ५ का हजूरमा आफ्नो पदबाट राजीनामा चढाएर मौसूफको अभिभारा हलुका पारिदिनु नै सर्वोत्तम हुनेछ।”
तब प्रधानन्यायाधीशले निन्याउरो मुख लाएर भने रे, “जे गर्नुपर्छ गरौंला, तर यहाँ भएको कुरा बाहिर नजाओस्।”
प्रधानन्यायाधीशले त्यस्तो आग्रह गरे पनि शाहजी थामिएनन्, भनेछन्, “तपाईंले मुद्दाको मिसिल वा फैसलामा भोलिपल्ट बुँदा थपेको र ऐन सवाल छोडी मुद्दा छिनेको कुरा अवश्य नै सार्वजनिक प्रचारमा ल्याउँछौं।”
राजाको रोहवरमा प्रधानन्यायाधीशसँग विवादास्पद मुद्दाका सम्बन्धमा खरो कुराकानी गर्न पाएकोमा शाहले त्रिभुवनलाई धन्यवाद दिए रे।
त्यसपछि रेग्मीजीहरूलाई छुटाउन आन्दोलनका लागि टंकप्रसाद आचार्यसहित ११ जनाको संघर्ष समिति बनेछ। सरकारले त्यो समितिमा रहेका सबैलाई सुरक्षा कानून लगाएर पक्रेछ।