पाकिस्तानका विपक्षी नेताले गरेको ट्वीट 'रिट्वीट' भएपछि अमेरिकाले माग्यो माफी
पाकिस्तानस्थित अमेरिकी राजदूतावासले विपक्षी नेताको ट्वीट रिट्वीट भएको विषयमा माफी मागेको छ। विपक्षी नेता असान इकबालले अमेरिकी चुनावको विषयलाई जोडेर पाकिस्तानको राजनीतिबारे गरेको ट्वीटलाई आधिकारिक पहुँच भन्दा बाहिर गएका कारण रिट्वीट हुन पुगेको भन्दै अमेरिकी दूतावासले माफी मागेको हो।
अमेरिकामा भर्खरै सम्पन्न चुनावमा राष्ट्रपति डोनल्ड ट्रम्पले हार व्यहोरेपछि विपक्षी नेता इकबालले वासिंटन पोस्टमा प्रकाशित सामग्रीलाई शेयर गर्दै "पाकिस्तानमा पनि त्यस्तै एक नेता छन् र उनलाई पनि छिट्टै बाटो देखाउनु पर्नेछ" भन्दै ट्वीट गरेका थिए। उक्त ट्वीटलाई अमेरिकी दूतावासको आधिकारिक ट्वीटर अकाउन्टबाट रिट्वीट भएको थियो।
उक्त ट्वीटमा कसैको पनि नाम उल्लेख थिएन। यद्यपी पाकिस्तानको विपक्षी नेताले गरेको हुँदा उक्त पोस्ट प्रधानमन्त्री इमरान खानलाई लक्षित गरेर गरिएको हो भन्ने अनुमान लगाउन सकिन्छ। सामाजिक सञ्जालमा पनि अधिकांश प्रयोकर्ताहरूले यसलाई प्रधानमन्त्री खान विरुद्ध गरिएको टिप्पणीका रुपमा लिएका छन्
दूतावासले उक्त ट्वीट अधिकारिक पहुँचविना नै हुन गएको बताएको छ। दूतावासले ट्वीट गर्दै भनेको छ,"प्रिय फलोअर्सहरू: अमेरिकी दूतावास इस्लामाबादको ट्वीटर अकाउन्ट गए राती आधिकारिक पहुँच भन्दा बाहिर पुगेको थियो। अमेरिकी दूतावास राजनीतिक सन्देरहरू पोस्ट गर्न वा रिट्वीट गर्ने कुराको समर्थन गर्दैन। हामी यसबाट पर्न गएको भ्रमको लागि माफी चाहन्छौँ।"