भारतसँगको सीमानाका खुलाउन माग गर्दै स्थानीयद्वारा गौरमा प्रदर्शन
लामो समयदेखि नेपाल–भारत सीमा औपचारिकरूपमै बन्द रहँदा सीमाक्षेत्रको बासिन्दा उकुसमुकुस भइसकेका छन्। आफन्तकहाँ आवतजावत गर्न तथा व्यवसाय सञ्चालन गर्न अप्ठेरो पर्दै गएपछि भन्सार नाका खुलाउन रौतहटको गौरमा स्थानीयबासी तथा व्यावसायीहरूले प्रदर्शन नै गरेका छन्।
जिल्ला सदरमुकाम गौर भन्सार नाका गत चैतदेखि बन्द रहेको छ। भन्सार नाका सञ्चालनमा नआउँदा सर्वसाधारणहरू किनमेल गर्न भारतीय बजारसम्म जान पाएका छैनन्। भारतीय बजारमा दैनिक उपभोग्य सामानहरू नेपालभन्दा निक्कै सस्तोमा पाइने हुनाले दैनिक हजारौँ मानिस भारतीय बजारसम्म पुग्ने गर्दछन्।
औपचारिकरूपमा नाका सञ्चालन नहुँदा तस्करी मौलाएको र विपन्न वर्गलाई अत्याधिक मार परेको स्थानीयको बुझाइ रहेको छ।
भन्सार नाका बन्द भएको कारण भारतीय नम्बर प्लेटका गाडीहरू भन्सार काटेर चलाउन पनि अप्ठ्यारो परेको देखिएको छ। रौतहटमा पनि सयौँ मानिसले भारतीय नम्बर प्लेटको गाडी राखेका छन्।
भन्सार नाका बन्द रहँदा भारतबाट नेपालतिर र नेपालबाट भारततिर आफन्तकहाँ बिहे, पूजा, व्रतबन्ध तथा अन्य पारिवारिक भेटघाटमा अप्ठ्यारो परेको स्थानीयको भनाइ छ। व्यवसाय सञ्चालन गर्न भारतबाट सामान मगाउन पनि निकै अप्ठ्यारो परेको भन्दै नाका खोलाउन बिहीबार व्यावसायीहरू पनि प्रदर्शनमा उत्रिएका हुन्।
दुई हप्ताअघि एक समूहले नेपाल–भारत सीमा नाकालाई खोलाई जनजीवन सामान्य बनाउन जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा ज्ञापनपत्र पनि बुझाएको थियो। लामो समय भन्सार नाका बन्द रहँदा सीमाञ्चलको जनजीवन कष्टकर बन्दै गएको भन्दै भन्सार नाका खोलाउन पहलका लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा बुझाइएको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले केन्द्रसम्म आवाज पु¥याउने आश्वासन पाएको तर खासै सकारात्मक पहल हुन नसकेको रेवन्त झाले जानकारी गराएका छन्।
भारतको बिहारमा प्रदेश सरकारको लागि निर्वाचन सम्पन्न भएलगत्तै भन्सार नाका खुल्ने आशामा रहेका सीमा क्षेत्रका बासिन्दाले बिहारको निर्वाचनको नतिजा सार्वजनिक भइसक्दा पनि भन्सार नाका खुल्ने निश्चित नभएपछि प्रदर्शनमा उत्रिएको गौरका रमेश सिंहको भनाइ छ।
दीपावली र छठ पबनीको सामान किन्न पनि सीमाका अधिकांश बासिन्दा भारतीय बजार पुग्ने गरेका छन्। मधेसी समुदायको सबैभन्दा ठूला पर्वहरु दीपावली र छठ आइपुग्दा सरकारलाई दबाब दिन स्थानीयबासी तथा व्यावसायीले गौर भन्सार क्षेत्रमै प्रदर्शन गरेका हुन्।
भन्सार नाका खुलाउनुपर्नेमा सीमा क्षेत्रका सबै पक्ष सहमत रहेको स्थानीयको भनाइ छ।