बाङ्लादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना संक्रमण
मैत्रीपूर्ण खेल खेल्न बाङ्लादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)ले जनाएको छ। नेपाली टोलीका अन्य खेलाडीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ।
कोरोना देखिएका खेलाडीलाई अस्पतालको आइसोलेसनमा राखिएको एन्फाले जनाएको छ। ती खेलाडीको अवस्था सामान्य रहेको छ। कोरोना देखिए पनि उनले बाङ्लादेशसितको पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन्। नेपालले शुक्रबार बाङ्लादेशसित पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले अर्को खेल २ मंसिरमा खेल्ने कार्यक्रम तय भएको छ।
नेपाली खेलाडीहरूको गत साता पनि पीसीआर परीक्षण गरिएको थियो। त्यो बेला सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो। बाङ्लादेश उड्नु अघि पनि सबै खेलाडीसहित सबैको पीसीआर परीक्षण गरिएको थियो।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसको तयारीका लागि बाङ्लादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपालले सन् २०१८ मा बाङ्लादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा पछिल्लो पटक बाङ्लादेशसँग खेलेको थियो।
त्यसबेला नेपालले बाङ्लादेशलाई पराजित गरेको थियो। बाङ्लादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीसहित ३४ जना हाल बाङ्लादेशको ढाकामा रहेका छन्।