सुडानी जनताले सैनिक नेतृत्व स्वीकारेनन्, कर्फ्युकाे गरे अवज्ञा
सुडानका राष्ट्रपति ओमार अल–बसिरलाई सत्ताच्युत गरेर सुडानी सेनाले शासनसत्ता हातमा लिएसँगै चार महीनादेखि जारी जनप्रदर्शन अझ उग्र बनेको छ ।
प्रदर्शनकारीले राजधानी खार्तुममा रातिको समयमा लगाइएको कफ्र्यु अवज्ञा गर्दै सडकमा उत्रिएका छन् ।
प्रदर्शनकारीले सेनाका उच्च अधिकारी सम्मिलित संक्रमणकालीन सैनिक परिषद्लाई पनि अस्वीकार गरेका छन् ।
उनीहरूले पुरानै सत्ताको पुनरागमन भएकाले सैनिक नेतृत्वलाई स्वीकार्न नसकिने स्पष्ट गरेका छन् ।
तीन दशकदेखि बशीर नेतृत्वको सैनिक सरकारको बन्धकमा मुलुक रहेको भन्दै प्रदर्शनकारीहरूले लोकतान्त्रिक सरकार गठन नहुँदासम्म प्रदर्शनमा सहभागी हुन आमजनतालाई आह्वान गरेका छन् ।
गरिबीको चपेटामा परेको सुडानमा चरम भोकमरी र जनजीवन अस्तव्यस्त छ ।
शुक्रबारको प्रदर्शनका क्रममा राजधानी खार्तुमका अधिकांश पसल र कार्यालय बन्द रहेका थिए । खार्तुमसँगै सुडानको अर्को ठूलो शहर ओम्डुरमानमा पनि प्रदर्शन भइरहेका छन् ।
संयुक्तराज्य अमेरिकाले सैनिक परिषद्लाई धैर्य अपनाउन र नयाँ सरकार गठन हुँदा नागरिकको सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ ।
युरोपेली युनियनले पनि सैनिक नेतृत्व समक्ष शासनसत्ता जतिसक्दो चाँडो नागरिकलाई हस्तान्तरण गर्न आह्वान गरेको छ ।
सुडानका अन्तिम निर्वाचित प्रधानमन्त्री सदिक अल–माहदीले प्रदर्शनकारीलाई सम्बोधन गर्ने अपेक्षा पनि गरिएको छ । माहदीलाई सन् १९८९ मा बशीरले सैनिक बलबाट सत्ताच्युत गरेका थियो ।
निर्वासनबाट खार्तुम फर्किएपछि माहदीले आफ्नो उम्मा पार्टीसँग अरु साना दल र समूहलाई मिलाएर गठबन्धन तयार गरेका थिए । सुडानका चिकित्सक, शिक्षक र इन्जिनियरहरूको ठूलो पेशागत सञ्जालले पनि शुक्रबारको प्रदर्शनमा सहभागी हुन आमजनता र पेशाकर्मी समक्ष आग्रह गरेको छ ।
सैनिक परिषद्ले सैनिक मुख्यालयबाहिर रहेका प्रदर्शनकारीलाई रातिको अवज्ञा (कफ्र्यु) आदेश पालना गर्न आग्रह गरेको थियो, तर प्रदर्शनकारीले सेनाको अनुरोधलाई अस्वीकार गरेर रातभर प्रदर्शनमा सहभागी भएका छन् ।
एकजना प्रदर्शनकारीले आफूहरू ६ दिनदेखि यहाँ धर्नामा बसेको र नागरिक सरकार गठन नहुँदासम्म धर्नास्थल नछाड्ने बताए ।
प्रदर्शनकारीहरू र सैनिकहरूबीच प्रदर्शनस्थल वरपर सौहाद्र्र वातावरण देखिएको थियो । प्रदर्शनकारीहरूले आफ्नो लडाइँ सैनिक नेतृत्वसँग रहेको, तल्लो तहका सेनासँग कुनै वैमनश्य नरहेको बताइरहेका थिए ।
सैनिक परिषद्ले गरेको पछिल्लो पत्रकार सम्मेलनमा सेनाले सुडानमा थप अस्थिरता र अराजकता हुन नदिन सेना उच्च सतर्क रहेको जनाएको छ । पत्रकार सम्मेलनमा दुई वर्षभित्र सुडानमा आमनिर्वाचन गर्ने र नागरिक सरकार गठन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
सेनाले मुलुकका सबै राजनीतिक पक्षसँग वार्ता गर्ने जनाएको छ ।