चलचित्र छायांकनको अनुमति दिन सरकासँग माग
नेपाल चलचित्र निर्माता संघले तिहारलगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर काम गर्ने भन्दै संघले छायांकन र हल खोल्ने अनुमति दिन माग गरेको हो।
बन्दाबन्दी खुलेसँगै अन्य क्षेत्रहरू खुला गरेको सरकारले चलचित्र क्षेत्र अहिलेसम्म सञ्चालनको अनुमति नदिएर अपहेलना गरेको संघका अध्यक्ष आकाश अधिकारीले बताए।
सरकारले चलचित्र क्षेत्रलाई नाच्ने, गाउने र मनोरञ्जनको क्षेत्रका रूपमा मात्रै सोचेको महसुस आफूहरूलाई भएको उनले बताए। चलचित्र क्षेत्र मनोरञ्जनसँगै कला, संस्कृति, भेषभूषाको समिश्रण भएको उल्लेख गर्दै उनले यस्तो महत्वपूर्ण क्षेत्रलाई राज्यले अपहेलना गरेको बताए।
अहिले चलचित्र क्षेत्र बन्द हुँदा प्रत्यक्ष रूपमा ३५ हजार र यसक्षेत्रमा आश्रित १ लाख ७५ हजार बढी व्यक्ति बेरोजगार बसेको उनको भनाइ छ। धेरै समयमा उद्योग बन्द हुँदा प्राविधिक र दक्ष जनशक्ति पलायन हुने खतरा भएकाले यसतर्फ पनि ध्यान दिन अधिकारीले आग्रह गरे।
अहिले बन्दाबन्दी खुकुलो भएपनि धेरै क्षेत्रहरू बन्द रहेका छन्। विशेषगरी बढी भीडभाड हुने क्षेत्रहरू विद्यालय, मठ मन्दिर, चलचित्र क्षेत्रहरू बन्द छन्।