नेपालमै यसरी भइरहेको छ कोरोनाविरुद्धको आयुर्वेदिक औषधिको क्लिनिकल परीक्षण
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सिंहदरबार वैद्यखानामा बनाएको कोरोनाभाइरस विरुद्धको आयुर्वेदिक औषधिको अहिले जनकपुर, वीरगन्ज र भैरहवाका तीन वटा अस्पतालमा क्लिनिकल परीक्षण भइरहेको छ।
नेपालमा उत्पादित औषधिको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले क्लिनिकल परीक्षण गर्छ। परिषद्ले कोरोनाभाइरस विरुद्धको औषधिको अहिले प्रदेश नं. २ प्रादेशिक अस्पताल जनकपुर र नेशनल मेडिकल कलेजअन्तर्गत कोभिड अस्पताल वीरगन्ज र भीम अस्पताल, भैरहवामा क्लिनिकल परीक्षण गरिरहेको छ।
१० जना कोरोना संक्रमितलाई खुवाएर औषधिको परीक्षण थालिएको थियो। अहिले ५० जनालाई खुवाइँदैछ। संक्रमितलाई उक्त औषधि २८ दिनसम्म निरन्तर खुवाउने र त्यसको नतिजाका आधारमा दोस्रो चरणको परीक्षण गर्ने तयारी परिषद्को छ।
औषधि परीक्षण गर्ने टोलीको नेतृत्व परिषद्का आयुर्वेद अनुसन्धान विज्ञ तथा आयुर्वेद क्याम्पस कीर्तिपुरका सह–प्राध्यापक डा.विशुनदयाल प्रसाद पटेलले गरिरहेका छन्। औषधिको अनुसन्धानमा परिषदको सदस्य–सचिव प्रदिप ज्ञवाली, परिषद्की आयुर्वेद अनुसन्धान अधिकृत सृष्टि कार्की, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक वासुदेव उपाध्याय, आयुर्वेद क्याम्पस प्रमुख शिव मंगल प्रसाद पनि छन्।
गएको वैशाखदेखि कोरोनाको औषधि परीक्षणका लागि नीतिगत अध्ययन अनुसन्धान प्रकृया अगाडि बढाइएको डा. पटेलले बताउँछन्। नीतिगत प्रकृयाहरु पुर्याएपछि बल्ल परीक्षण शुरु भएको हो। क्लिनिकल परीक्षण थालिएको औषधिमा परम्परागत रुपमा प्रयोग हुँदै आएका जडीबुटीको प्रयोग गरिएको छ। डा. पटेलका अनुसार जेठीमधु (एस्टीमधु), पिप्ला, सुठो (सुकेको अदुवा), मरिचको मिश्रित औषधिको काँडा (झोल) प्रयोग गरिएको छ।
यी जडीबुटीहरु ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने जस्ता कोराेनाकै जस्तो लक्षण भएका बिरामीलाई प्रयोग गरिन्छ। औषधिमा प्रयोग भएका जडीबुटीले उस्तै लक्षण भएका यस्ता रोगमा भाइरसलाई फैलन नदिइ लक्षण कम हुने गरेको डा. पटेलको भनाइ छ।
यी जडीबुटीहरु ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने जस्ता कोराेनाकै जस्तो लक्षण भएका बिरामीलाई प्रयोग गरिन्छ। औषधिमा प्रयोग भएका जडीबुटीले उस्तै लक्षण भएका यस्ता रोगमा भाइरसलाई फैलन नदिइ लक्षण कम हुने गरेको डा. पटेलको भनाइ छ।
“यी जडीबुटीको प्रयोगले उस्तै प्रकारका लक्षण कम हुनु भनेको संक्रमण बढ्न नदिनु अथवा निको हुनु हो। त्यसैले औषधि प्रभावकारी बन्ने सम्भावना बढी छ”, उनी भन्छन्। अहिले संक्रमितलाई बिहान खाली पेटमा र साँझ खाना खानुभन्दा आधा घन्टाअघि निश्चित मात्रामा खुवाइँदैछ।
औषधि परिषद्को सल्लाहमा सिंहदरबार वैद्यखानामा तयार पारिएको हो। सिंहदरबार वैद्यखाना विकास समितिका अध्यक्ष डा. बाबुराजा अमात्यका अनुसार परिषदका विज्ञहरुको टोलीले भने अनुसार नै औषधि तयार पारिएको छ। डा. अमात्य भन्छन्, “परिषद्का विज्ञहरुको सल्लाहमा पिसेर तयार गर्ने काम गरेका हौं। त्यसको मात्रा मिलाएर दिने काम उहाँहरुको निगरानीमा नै हुन्छ।”
कोरोनाको सामान्य र मध्यम लक्षण देखिएका संक्रमितहरुमा औषधि परीक्षण भइरहेको छ। यो औषधि एक जना संक्रमितलाई २८ दिनसम्म खुवाइने डा. पटेल बताउँछन्। पहिलो चरणको परीक्षण मध्यतिर पुगेको र चार जना डिस्चार्ज पनि भइसकेको उनले जानकारी दिए। लक्षण कम भएका र पछि नेगेटिभ रिपोर्ट आएकालाई पनि रोग प्रतिरोधात्मक क्षमता बढाउन औषधि दिइरहेको उनको भनाइ छ।
यो औषधि प्रयोग गर्नको लागि पनि विशेष ‘प्रोटोकल’ निर्माण गरिएको छ। उक्त प्रोटोकलभित्र पर्ने संक्रमितलाई मात्रै प्रयोग गरिन्छ। ५० जना औषधि खुवाइएका संक्रमित र ५० जना औषधि नखुवाइएका संक्रमितको लक्षणलाई आधार बनाइ तुलनात्मक विश्लेषण गर्ने परिषद्को तयारी छ। अनुसन्धानविज्ञ टोलीले औषधि प्रयोगका लागि प्रयोग भइरहेका अस्पतालका स्वास्थ्यकर्मीलाई तालिम दिएको छ। त्यही अनुसार उनीहरुले संक्रमितलाई औषधि खुवाउँछन्।
औषधि खुवाउन थालेको हरेक एक हप्ता परिषद्ले पीसीआर जाँच गरिइरहेको छ। डिस्चार्ज भएका सबै जनाको सात दिनमा नै पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। रिपोर्ट नेगेटिभ आएपछि पनि थप सात दिन गरी जम्मा १४ दिनसम्म अस्पतालमा राखेर औषधि खुवाइँदैछ। बाँकी १४ दिन घरमै औषधि सेवन गर्न लगाइने डा. पटेल बताउँछन्।
अहिलेसम्मको क्लिनिकल परीक्षणले आशावादी बनाएको डा. पटेलको भनाइ छ। उनी भन्छन् “अहिलेसम्मको नतिजाले आशावादी बनाएको छ। राम्रो गर्ला भन्ने विश्वास छ। तर, अन्तिम नतिजा नआएसम्म केही भन्न सकिने अवस्था छैन।”
नेशनल मेडिकल कलेजअन्तर्गतको कोभिड अस्पताल वीरगन्जका डा. पर्वेज अन्सारी औषधि प्रयोग गरिरहेका संक्रमितहरुले सकारात्मक प्रतिकृया दिइरहेको बताउँछन्। “यो औषधिले भाइरस मार्नेभन्दा पनि प्रतिरक्षा बलियो बनाइ संक्रमण फैलन नदिने हो। परीक्षणको शुरुवात मात्र भएको हुनाले यो औषधिकै कारण उनीहरुलाई निको भयो भनेर भन्न सकिंदैन। परीक्षणको नतिजा आएपछि थाहा हुन्छ”, उनी भन्छन्।