म आमाको लागि छोराजस्तै छोरी
मेरी बुढीसासू (सासूको सासू) चन्द्र कुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा मुवाले अड्की अड्की पुराना कुरा गर्नुहुन्छ । यसपालिको अंशमा मुख्यतः मुवाको आमा अनि दिदीबैनीबारे सुनाउनुभएको छ, वहाँकै शब्दमाः
सानो हुँदा त मलाई के थाहा। पछि अलि ठूलो भएपछि पो थाहा भयो, आमा भनेको यस्तो, बूढीआमा भनेको यस्तो भनेर । मेरो आमा त गज्जबको हो नि!
मेरो मुवा (पद्मकुमारी पाण्डे) साह्रै राम्री। हेर न फोटो! ठूलाठूला आँखा। कपाल ओहो! कस्तो लामो थियो। बाहिर, राणाजीहरू कहाँ जानु पर्यो भने ढाँचा पार्नुपर्थ्यो। अनि कपाल चट्ट अलख पारेर सुसारेहरूले नै कोरिदिन्थे। मुवाको सधैँ ढाँचा यस्तै हुन्थ्यो। त्यो बेला घाँटीमा हीरा अनि यत्रो पन्ना पनि हुन्थ्यो। सारी पनि राम्रो राम्रो पाउँथ्यो। मुवाको जीउ ठूलो थियो, त्यसैले फरिया पनि लामो चाहिन्थ्यो। त्यो फोटोमा लगाएको फरिया त काशीमा पाइन्छ। चोलो हेर त कस्तो छ! जम्मै बनारसबाट ल्याउने।
मुवाको पनि थुप्रै चेलीहरू थिए, मन्त्र सुनाएको। तिनीहरूले मुवालाई अलि ‘सपोर्ट’ गर्थे। दशैँमा टन्नै आउँथ्यो सामान। सिंहदरबारबाट गुरुमाको लागि भनेर मुवालाई भत्ता पनि आउँथ्यो। पछि नारायणहिटीबाट पनि आउँथ्यो। हुन त मुवाको माइती गोरखा हो। तर छोरी गुरुमा भएपछि आफ्नो आमालाई ‘नेपाल’ नै ल्याएको! शहरमै । मामाघर जाने भनेपछि हामी बच्चाहरूलाई कस्तो रमाइलो लाग्थ्यो।
मुवाले दिन सजिलोसित बिताउने हो। धर्मकर्म खूब गर्ने। पूजा गरिरहने। नुवाईधुवाई गरेर बिहान पूजा गर्ने। पूजा सकिएपछि बत्ती कात्ने। पोइको अघिल्तिर बस्यो, बत्ती कात्यो। हरेक दिन दिउँसो पण्डित आउँथे। पुराण सुनाउँथे। बडमुवा, मुवा सब सुन्ने। आनन्द थियो बा।
मुवा सबलाई माया गरिबक्सिन्थ्यो। सबलाई राम्रोसँग व्यवहार गर्ने। गाली, नचाहिने कुरा नगर्ने। फेरि हरेक कुरा सहने। दुल्हाले जे गरे पनि चूप लागेर बस्ने। कस्तो सहने! साह्रै असल!
सासू (बडमुवा शिवकुमारी पाण्डे) ले एकदम मन पराउने मुवालाई। गज्जबको बुहारी हो नि त मुवा, सासूले भनेको सब गर्ने। बडमुवाले एकदम माया गर्ने। “छोरीछोरी पाई, अलि दुःख हुने भयो!” मर्जी हुन्थ्यो। छोरा, मेरो भाइ, त पछि पाएको। छोरा आउँछ भन्यो छोरीछोरी!
मुवाले आफ्नो बुहारी (उषा पाण्डे) लाई पनि एकदम माया गर्ने। उनको पनि सानैमा बिहे भएको। अनि 'कठै, अर्काकी छोरी, यसरी आएकी छन्!' भनेर उनलाई झन् विशेष माया गरिबक्सिन्थ्यो। उनी बेस थिइन्, एकदमै राम्री पनि।
मुवाले रेखदेख, यताउति, सब राम्रोसित गर्ने। एकदम सिपालु। एकछिन खाली नबस्ने। बुन्ने, सिउने सब गर्ने। आफैं कल चलाएर लुगा, खोलहरू मर्मत गर्ने। आमाले जे–जे गर्ने हामी छोरीहरूले पनि त्यै सिकेको त हो नि!
'तिमीहरूले पनि जान्नुपर्छ बा, अर्काको घर जानुपर्छ, दुःख हुन्छ कि सुख हुन्छ, आइज काम सिक्न' भनिबक्सिन्थ्यो। सानोमा त हामीलाई खेल्न पाए पुग्थ्यो। पछि सिक्यौँ। पकाउन सबैभन्दा जान्ने म नै थिएँ। म गरिरहन्थेँ। रहर लाग्थ्यो। मैले पकाएको बुवा मुवालाई पनि खुवाउँथेँ। भुजा त हामीले छोएको हुन्नथ्यो, काकाबाजे नै चाहिन्थ्यो। म तरकारी बनाउँथेँ , मासु कैले मुवाले, कैले कृष्णले पकाउने।
मुवाहरूको खोपी नजिकै सानो कोठा थियो, त्यहाँ मुवाले बुवा (बडागुरुज्यू विश्वराज पण्डित) को लागि एक थोक अलग्गै पकाइबक्सिन्थ्यो। हरेक दिन, बुवालाई मन पर्ने एक थरी। भान्छामा बुवाले खाइसकेपछि, मुवाले त्यै थालमा, त्यै पुरामा खाने। त्यस्तै चलन थियो।
मुवा असाध्यै मीठो पकाइबक्सिन्थ्यो। काउली पकाएको कस्तो मीठो। अनि रोटीसँग खाए पनि भो, चिउरासँग खाए पनि भो। मुवा कि आफैँ पकाइबक्सिन्थ्यो, कि अरूलाई आफूले अह्राई पराई गरेर तयार पार्न लगाउने। चाडबाड आयो भने, बडमुवाले ‘ल दुल्हैलाई सोध के के गर्ने। दुल्है गुरुमालाई मात्र कति दुःख दिने, सघाउन जाउ’ मर्जी हुन्थ्यो। अनि अरू बाहुनीहरूले सघाउँथे।
मेरो आमालाई दुःख थियो बा। वर्षेनि छोरछोरी पाउने। धाईहरू त राख्या हुन्थ्यो, तर छोरछोरीलाई पनि हेर्न पर्यो। मेरो आमाले बच्चा पाएको अलि अलि मात्र सम्झन्छु। घरमै जन्माउने, सुत्केरी कोठामा। आफ्नो दूध बच्चालाई अलिअलि मात्र चुसाउने, दूध खुवाउन धाई राख्या हुन्थ्यो। म मुवालाई ‘मलाई पनि सिकाइबक्स्योस, हजुरको यत्ति हैरान छ’ भन्थेँ। आमालाई साथ दिन कोही नजाने। अनि मुवाले ‘ल हेर दिदीले कसरी गरिराछ’ मर्जी हुन्थ्यो, बैनीहरूलाई।
अलि ठूली भएपछि मैले ढोकाटोलमा कोठासोठा बनाउने सबै गरेँ। ‘म यसो यसो बनाउँछु मुवा’ भन्थेँ। अनि बुवाले मुवालाई ‘दे दे गर्न दे धनलाई!’ मर्जी हुन्थ्यो। अनि बनेपछि त्यो सबैबाट आएको भाँडा मुवाकै हुन्थ्यो।
हामी छोरीहरू र छोरो
हामी ४/५ जना छोरीहरू थियौँ। मुवाले हामीलाई ‘नानी’ भनेर बोलाउने हो। एउटै लामो कोठामा पलङहरू लहरै राखेको हुन्थ्यो, दिदीबैनीहरू सब त्यहीं सुत्थे। उनीहरुका धाईहरू पनि नानीहरू सँगसँगै भुइँमा बिछान (बिछ्याउना) लगाएर सुत्थे। म बडमुवासँग सुत्थेँ, भाइ चाहिं माथि बुर्जामा भिन्दै सुत्थ्यो।
मेरो दिदी (भोला मैया) राम्री, गोरी थिइन्। सबै कुरा सिकाउँथिन्, मलाई र बैनीहरूलाई। दिदीको बिहे भएको म सम्झन्न, सानै थिएँ। बितेको चाहिं अलि अलि सम्झिन्छु। के रोग लागेको हो, टीबी नै हो क्यार। छातीको। अनि मरिन्। छोरी बित्दा मुवालाई साह्रै दुःख भयो।
दिदी बित्दा उनको छोरछोरी सान्–सानै थिए। अनि ती दाइबैनी मामाघरमै हुर्के। उनीहरूलाई हेर्न मान्छे राख्या थियो। भिनाजुले अर्को बिहे गरे, तुरुन्तै। किन गर्ने थिएनन् पहिला पहिला त्यस्तै हो, क्यै छैन। दुल्हैको दुल्हा मर्यो भने त कहाँ पाउँथ्यो त्यसो गर्न। कसैको भात पकाइदिने, काम गर्ने भएर विधवाको विधवा नै बस्ने।
त्यो बेलामा सान-सानैमा बिहे हुन्थ्यो नि। माग्न आइहाल्थे। बडमुवाकहाँ चाकडी गर्न आउनेहरूले नातिनी माग्थे। ‘मेरो नातिलाई बक्स्योस्’ भनेर। ‘कस्तो छ नाति!’ भनेर यसो सोध्यो। अनि भयो।
मलाई पनि मेरो बूढीसासुले माग्न आइन्। मेरो बडमुवाकाँ चाकडी गर्न आउँथिन्। मागिन्, अनि दिएको। कति सस्तो हेर बा छोरीहरू! माग्यो, अनि दिइहाल्ने। अनि त साफ दुःख! घर कस्तो, दुल्हा कस्तो के थाहा हुन्थ्यो र ? सौता हाल्लान् भन्ने पीर पनि हुन्थ्यो फेरि। अहिलेका आइमाइहरुलाई धेरै आनन्द। पैले आफ्नो बिहेको लागि कहाँ रोज्न पाउनु!
साइँली मैया (नूतन रेग्मी) बेस थिइन्, पढेकी थिइन्। स्वभाव राम्रै थियो। उनको दुल्हा के नराम्रो रोग सरेर मरेका थिए। उनको पनि म र दिदी जस्तै जोशी केटासितै बिहे भएको थियो। उनको दुल्हा ठीकैका थिए, राम्रो पनि हैन, नराम्रा पनि हैनन्। उनीहरूको छोरछोरी थिएन। दुल्हा मरेपछि साइँली मैया पनि ढोकाटोलमै बस्न आइन्। म र बल्लाम एउटा कोठामा हुन्थ्यौँ, साइँली मैयाको छुट्टै कोठा थियो।
काइँली मैया (कल्याणी रेग्मी) को चाहिं डिल्लीरमण रेग्मीसित बिहे भएको थियो। रेग्मी माइली गुरुमाको भाइ थिए, आफुबुवा (नायब बडागुरुज्यू हेमराज पण्डित) को सालो। डिल्लीरमण त खूब पढ्या गुन्या थिए नि, इण्डियामा। उनी असल थिए।
काइँलीमैया पनि साह्रै असल थिइन्। एकदम बेस। कसैलाई क्यै नभन्ने। ज्ञानी, अनि राम्री पनि। उनले थुप्रो बच्चाबच्ची पाएकी थिइन्। अनि त कठै, मरिहालिन्। त्यो बेला डिल्लीरमण इन्डियाको जेलमा थिए। उनी बितेपछि बैनीको बच्चा स्याहार्न साहिंली मैया गइन्। पछि उनी पनि डिल्लीरमण सँगै बसिन्। बिहे गरे। पहिला त बुवाहरू एकदम रिसाइबक्स्यो। बुवाले त कतिसम्म मुखै हेरिबक्सेन। ढोकाटोलमा आउजाउ पनि थिएन। मुवालाई त छोरी माया लाग्छ नि, बा।
काइँली मैया पछि जन्मेको हो, भाइ (विधिराज पाण्डे)। खुशियाली हुने नै भयो नि, छोरो पाएको। भाइपछि कान्छीमैया जन्मिन् । कान्छीमैया सानी थिइन्, बिचरा। तर, उनी हामीहरूमा सबैभन्दा राम्री। गोरी, अलि दुब्ली। बानी पनि साह्रै बेस। कसैलाई क्यै नराम्रो नभन्ने। उनी त स्कूलमा पनि पढाउँथिन्। उनको धोबीधाराको पाठकसित बिहे भयो। उनले पनि छोरीछोरी पाइन्! हरे!
छोराजस्तै छोरी
मुवा बुवालाई मेरो डिल्ली बजारको घर एकदम मन परेको थियो। मैले घर बनाएपछि एक महीना आएर राज भएको थियो। बुवाले ‘रमाइलो छ, जौँ हिंड’ भनेर सवारी भएको थियो। आमा, बाबु, काम गर्नेहरू पनि आएका थिए।
पछि मुवालाई अलि सञ्चो भएन। वैद्यले हेर्थ्यो। धेरै छोरछोरी पाएको जीउ, कमजोर थियो। फेरि मोटो पनि। मैले मुवालाई बिरामी हुँदा एक छिन पनि छाडिनँ। बुवा नभएपछि मुवालाई आफ्नो घर डिल्लीबजारमै लगेर पनि राखेँ। एक वर्ष त पुराण सुनाएँ। रोज। गीता सुन्न मन लाग्दा त्यो पनि सुनाएँ।
मैले सजिलोसँग राख्या थिएँ। ‘कत्ति माया गर्छे यसले’ मर्जी हुन्थ्यो। अरू छोरीहरूलाई, ‘दिदीले यस्तो गर्छे, तिमीहरू त क्यै पनि गर्दैनौ’ भनेर गाली गरिबक्सिन्थ्यो। छोराको माया भने एकदम थियो मुवालाई। तर, मैले आमालाई छोडिनँ। मुवाले मलाई ‘यो सब गर्छे, यो त छोरा जस्तै छ’ पनि मर्जी हुन्थ्यो।
मुवा पशुपतिमा स्वर्गीय भएको। वैद्यले नरहने भनेपछि लगेको। म पनि गएकी थिएँ। जलाएको त हेरिनँ। आमा गएपछि साह्रै दुःख भयो। घरै सुन्ने भयो।
किरणराज जोशी र रूपा जोशीसितको कुराकानीमा आधारित