विश्वकप छनोटका बाँकी खेल आउँदो जुनभित्र सकिने
कतार विश्वकप छनोट अन्तर्गत नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एशियन कप छनोटका बाँकी खेलहरू सन् २०२१ को जुन महीनाभित्र सकिने भएको छ।
एशियाली फुटबल महासंघ (एएफसी)ले विश्वकप र एशियन कप छनोटका बाँकी खेलहरू जुन १५ सम्म सकिने जनाएको हो। यसअघि अक्टोबर र नोभेम्बरका लागि तय भएका छनोट खेल कोरोना महामारीका कारण अनिश्चितकालका लागि स्थगित गरिएको थियो।
एएफसीको प्रतियोगिता समितिको भर्चुअल बैठकले विश्वकप छनोट र एशियन कप छनोटका बाँकी खेल जुन १५ भित्र सक्ने निर्णय गरेको हो। छनोट अन्तर्गत बाँकी रहेको खेल मार्च र जुनमा हुने एएफसीले बताएको छ।
कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा हुने एशियन कप छनोटका लागि नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ। नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्न बाँकी छ।
छनोटको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेशको ढाकामा छ। बंगलादेशसँग शुक्रबार पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ भने २ मंसिरमा दोस्रो मैत्रीपूर्ण खेल सकेर स्वदेश फर्किने तालिका रहेको छ।