रौतहटमा गोली हानी युवतीको हत्या
रौतहटमा गए राति एक युवतीको गोली हानेर हत्या भएको छ। माधवनारायण नगरपालिका–७ लौकाहा गाउँका राम अयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारीको हत्या भएको हो।
आमा शौचालय गएको बेला राति करिब ११ बजे अज्ञात समूह घरमा पसी अमृताको कन्चटमा गोली प्रहार गरेको आफन्तलाई उधृत गर्दै प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।
गएको फागुनमा सर्लाहीको मधुवनगोठ गाउँका रुपेश साहसित उनको बिहे भएको थियो। बिहेको केही समयपछि अमृताको अर्का युवकसित प्रेम सम्बन्ध रहेको भन्दै परिवारमा विवाद भएको थियो। गत असारमा उनीहरुको सम्बन्ध विच्देद भएको भएको थियो।
त्यसअघि गएको वैशाखमा उनका श्रीमान्लाई अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते श्रीमान् लामो समय उपचारपछि निको भएका छन्। काका नेवालाल साहका अनुसार सम्बन्ध विच्छेदपछि अमृता माइती लौकाहामा बस्दै आएकी थिइन्।
घटनास्थलमा प्रहरी पुगिसकेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। गोली कसले हानेको खुलेको छैन।