पदभार सम्हाल्नुअघि नै टीम बनाउँदै अमेरिकी राष्ट्रपति निर्वाचित बाइडेन
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले पदभार सम्हाल्नुअघि नै आफ्नो टीम बनाउन थालेका छन्। उनले लामो समयदेखिका आफ्ना सल्लाहकार रहेका रोन क्लैनलाई ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’ छनौट गरेका छन्।
क्लेनले अब बाइडेनको कार्यकालमा ह्वाइट हाउसका कर्मचारीको नेतृत्व गर्नेछन्। देशभर फैलिएको कोरोनाभाइरस संक्रमण र शुरु भएको दोस्रो लहर नियन्त्रणका लागि पनि क्लेनलाई चिफ अफ स्टाफ छनौट गरिएको जनाइएको छ। उनले सन् २०१४ मा फैलिएको इबोला नियन्त्रणका लागि समन्वय गरेका थिए।
बाइडेनले बुधबार राति विज्ञप्ति जारी गर्दै वासिङ्टनमा क्लेनको लामो अनुभवका कारण यस्ता चुनौती सामना गर्न तयार पारेका कारण उनलाई छनौट गरिएको जनाएका छन्। बाइडेनले भनेका छन्, “उनीसँग अनुभव र फरक प्रकारका मान्छेहरुसँग काम गर्नसक्ने क्षमता छ, जुन अहिलेको आवश्यकता हो। उनलाई ह्वाइट हाउसको चिफ अफ स्टाफमा यसकारण पनि छानिएको हो कि अब अमेरिकालाई फेरि एकताबद्ध बनाउनुछ।”
क्लेनले बाइडेनसँग सन् १९८७ को डेमोक्र्याटको राष्ट्रपति क्याम्पेनदेखि नै काम गरिरहेका छन्। उनी १९९० को मध्यमा तत्कालीन उपराष्ट्रपति एल गोरका पनि चिफ अफ स्टाफ थिए। तत्कालीन राष्ट्रपति बराक ओबामाको पहिलो कार्यकालमा पनि तत्कालीन उपराष्ट्रपति बाइडेनका चिफ अफ स्टाफ थिए।
ह्वाइट हाउसमा चिफ अफ स्टाफलाई महत्वपूर्ण पदका रुपमा लिइन्छ। चिफ अफ स्टाफले राजनीतिक र संसदीय रणनीति बनाउन राष्ट्रपतिका लागि ‘गेटकिपर’को भूमिका खेल्छन्। त्यसैगरी संसदसँग समन्वयकारी भूमिका खेल्न पनि चिफ स्टाफको महत्वपूर्ण योगदान रहन्छ।
-वासिङ्टन पोष्टबाट