कोरोनाबाट ५० हजारभन्दा बढीको मृत्यु हुने पहिलो देश बन्यो बेलायत
बेलायतमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ। युरोपमा कोरोनाबाट ५० हजारभन्दा बढीको मृत्यु हुने बेलायत पहिलो देश हो।
बेलायतमा बुधबार एकैदिन ५९५ संक्रमितको मृत्यु भयो। योसँगै त्यहाँ मृतकको कुल संख्या ५० हजार ३६५ पुगेको छ। जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभरि नै मृतकको संख्या पनि बढ्न थालेको छ।
विश्वमा ५० हजारभन्दा बढीको मृत्यु हुने बेलायत पाचौँ देश हो। हालसम्म अमेरिका, ब्राजिल, भारत र मेक्सिकोमा ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। अमेरिकामा सबैभन्दा बढी दुई लाख ४७ हजार २७९ जनाको मृत्यु भइसकेको छ।
युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। स्पेनमा मृतकको संख्या ४२ हजार ९५३ पुगेको छ। त्यसपछि फ्रान्समा ४२ हजार ५३५ र स्पेनमा ४० हजार १०५ जनाको मृत्यु भइसकेको छ। संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्।
मृतकको संख्या बढ्न थालेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पछिल्लो समय प्राप्त तथ्याङ्कहरुले खोपको आशा दिलाएको बताएका छन्। “हामी अन्धकारमा हिँडिरहेका छैनौँ”, उनले भनेका छन्, “हरेक मृत्यु पीडादायी छ। मलाई लाग्छ हामीले यो चरणसम्म आइपुग्दा अब फरक व्यवहार गर्नैपर्छ।”
बेलायतमा बुधबार एकैदिन संक्रमित हुनेको संख्या २२ हजार ९५० भएको सरकारीले जारी गरेको तथ्याङ्कमा उल्लेख छ। बेलायतमा अहिलेसम्म १२ लाख ५६ हजारभन्दा बढी संक्रमित फेला परेका छन्। तीमध्ये एक लाख ८५ हजारभन्दा बढी अस्पतालमा नै भर्ना भएका थिए।