तिहार र छठपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्न सीसीएमसीलाई मेयर फोरमको सुझाव
उपत्यका मेयर फोरमले चाडपर्वहरू तिहार र छठपछि कडा निषेधाज्ञा जारी गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ। काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको विषयमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र उपत्यका मेयर फोरमबीच बुधबार छलफल भएको हो।
काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका दर र यसलाई नियन्त्रणमा लिनका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताए। तिहार र छठ लगत्तै उपत्यकामा बढीरहेको संक्रमण दर नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भिर छलफल भएको उनले बताए। उपत्यकामा कडा निषेधाज्ञा आवश्यक भएको उल्लेख गर्दै उनले सीसीएमसीका पदाधिकारीले अर्को बैठकमा कस्तो मोडालिटीमा जाने भन्ने छलफल गरी प्रस्ताव बनाउने बताए।
साथै मेयरहरूले कोभिडविरुद्ध गरिरहेको कामको बारेमा जानकारी गराउँदै काम गर्दा परेको अप्ठ्याराहरूका विषयमा समेत छलफल भएको छ।
कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले यही अनुपातमा कोरोना संक्रमण बढेमा केही समय लकडाउन गर्ने कि भन्ने विषयमा छलफल भएको बताए। “संक्रमण बढिरहेका विभिन्न देशहरूले पनि लकडाउन गर्न थालेकाले एक दुई हप्ता भए पनि हामीले त्यही उपाय अपनाउनुपर्छ कि भन्ने कुरा भयो, कुनै निर्णय भइसकेको होइन तर धेरै मेयरहरूले यही कुरा राख्नु भएको छ”, उनले भने।
त्यसका साथै कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने र मास टेस्टिङ गर्नुपर्ने प्रस्ताव राखेको मेयर थापाले जानकारी दिए। सीसीएमसी निर्देशक समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलले अहिलेको अवस्थमा कोरोना रोकथाम, नियन्त्रण र उपचारका सन्दर्भमा मेयरहरूसँग छलफल आयोजना गरेको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।
पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले भने, “सरकारले पछिल्लो समय गरेको निर्णयहरु जानकारी गराउनुका साथै कोभिड विरुद्ध भइरहेको कामको समीक्षात्मक छलफल पनि हो, तीन वटै तहबीच कसरी समन्वय गरेर कोभिड नियन्त्रणमा लाग्ने भन्ने कुरा भएको छ।”
छलफलमा उपप्रधानमन्त्री पोखरेलसहित गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य मन्त्री भानुभक्त ढकाललगायत उपत्यका मेयर फोरमका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए।
महामारी नियन्त्रणका लागि स्थानीय तह र संघीय सरकारबीच समन्वय हुन नसक्दा समस्या झन बल्झिने खतरा रहेकाले नियन्त्रणका लागि एकीकृत रुपमा पहल गरेर अगाडी बढ्ने विषयमा पनि छलफल भएको सहभागीहरूले बताए।