भारतको सर्वोच्च अदालतद्वारा अर्नव गोस्वामीलाई जमानतमा छाड्न आदेश
भारतको सर्वोच्च अदालतले आत्महत्या दुरूत्साहन मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका एक जना पत्रकार अर्नव गोस्वामीलाई जमानतमा छाड्न आदेश दिएको छ। न्यायाधीशहरू डीवाई चन्द्रचुद र इन्दिरा बनर्जीको इजलासले आज त्यस्तो आदेश दिएको हो।
सन् २०१८ मा दुई जना व्यक्तिको आत्महत्या घटनामा गोस्वामीलाई जिम्मेवार ठहर्याउँदै महाराष्ट्र प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। महाराष्ट्रको अलिबाग सेसन अदालतले १४ दिन थुनामा राख्न अनुमति दिएको थियो। त्यसपछि गोस्वामीले अन्तरिम जमानत माग गर्दै मुम्बई उच्च अदालतमा निवेदन दिएका थिए। मुम्बई उच्च अदालतले उनलाई जमानत दिन अस्वीकार गरेपछि गोस्वामी सर्वोच्च पुगेका थिए।
भारतको रिपब्लिकट टीभीका प्रधानसम्पादक रहेका गोस्वामीले आफ्नो टेलिभिजनबाट सत्तारूढ भारतीय जनता पार्टीलाई लाभ पुग्नेगरी समाचार र कार्यक्रम नियमित प्रसारण गर्दै आएका छन्। उनलाई महाराष्ट्र सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरेको पनि अनुमान गरिँदै आएको थियो।
सन् २०१८ मा गोस्वामीकै टेलिभिजनमा समेत काम गर्ने इन्टेरियर डिजाइनर र उनकी आमाले आत्महत्या गरेका थिए। 'सुसाइड नोट' मा गोस्वामीले दिनुपर्ने लाखौं रूपैयाँ नदिएर आफू आर्थिक समस्यामा फस्दै गएको कारण आत्महत्या गरेको उल्लेख थियो। त्यही घटनामा जिम्मेवार ठहर्याउँदै प्रहरीले गोस्वामीलाई पक्राउ गरेको थियो।
सर्वोच्च अदालतले गोस्वामीलाई जमानत दिन अस्वीकार गरेर मुम्बई उच्च अदालतले गलत निर्णय गरेको उल्लेख गरेको छ।