निजी क्षेत्रको साथबिना अर्थतन्त्र गतिशिल बन्दैनः अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको आत्मविश्वास र मनोबल नबढाइकन अर्थतन्त्रलाई गतिशिल बनाउन नसकिने बताएका छन्। बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रबिना अर्थतन्त्रलाई गतिशिल बनाउन नसकिने बताएका हुन्।
उनले कोभिडले सिर्जना गरेको चुनौतीलाई परास्त गर्दै अर्थतन्त्रलाई पुनर्उत्थान गर्न, रोजगारीका अवसर बढाउन र उत्पादन बढाउने काम निजी क्षेत्रबिना सम्भव नभएको बताए।
अहिलेको प्रतिकुल परिस्थितिकाबीच पनि व्यवसाय सञ्चालन गर्न र राष्ट्रिय अर्थतन्त्रमा आ–आफ्नो ठाउँबाट योगदान दिन अनुकुल परिस्थितिको निर्माण गर्ने भूमिकामा सरकार रहेको उनले बताए।
सरकारले घोषणा गरेका कार्यक्रमहरू कार्यान्वयनमा नगएको सम्बन्धमा आफ्नो ध्यान केन्द्रित भएको पनि अर्थमन्त्री पौडेलले बताए। सरकारले घोषणा गरेको पुनर्कर्जा तथा स्टिमुलस प्याकेजहरू कार्यान्वयनको चरणमा रहेको उनले बताए।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजश्वका दरहरू घटाउन माग गरे। सरकारले राजश्वका दर घटाउँदा कारोबार बढ्न जाने र कारोबार बढेपछि स्वतः राजश्वको आकार समेत बढ्ने भएकाले छिटो भन्दा छिटो राजश्वका दरहरू घटाउनुपर्ने अध्यक्ष श्रेष्ठले बताए।
करका दरहरू उच्च हुँदा कुनैपनि वस्तुको मूल्य बढी हुने भएकाले कतिपय सामानहरूको अवैध आयात हुने गरेको व्यवसायीहरूले बताएका छन्। त्यसैले पनि भन्सार दर, राजश्व, मूल्य अभिवृद्धि कर लगायतका करका दरहरूमा सुधार आवश्यक रहेको व्यवसायीहरूको तर्क छ।