महामारीले सेवा विस्तार गर्न नपाएका वायुसेवालाई एक वर्ष समय थप
सरकारले कोरोना महामारीका कारण अनुमति पाएर जहाज ल्याउन नसकेका र थप जहाज ल्याउन अनुमति लिइसकेका वायुसेवालाई राहत हुनेगरी नागरिक उड्डयनसँग सम्बन्धित वायुसेवालाई इजाजत दिने सम्बन्धी कार्याविधि संशोधन गरेको छ।
महामारीका कारण सेवा विस्तार गर्न नसकेका र अनुमति लिएर जहाज ल्याउन नसकेका वायुसेवा कम्पनीलाई सरकारले एक वर्षको समय थप गरिदिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘नागरिक उड्डयनसँग सम्बन्धित संस्थालाई इजाजत दिने सम्बन्धी कार्यविधि २०६६’ लाई संशोधन गरेर आवश्यकताका आधारमा थप समयसीमा तय गरेको उल्लेख छ।
२० कात्तिकको मन्त्रीस्तरीय निर्णयबाट इजाजत प्राप्त वायुसेवा संचालन संस्थाले काबुबाहिरको परिस्थिति पर्न गएका वा विश्व महामारी रोगको संक्रमण बढेर जनजीवन अस्तव्यस्त भएको अवस्थामा मात्रै एक वर्ष समय थप्न पाउने पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए।
आचार्यले भने ‘‘अनुमति लिएर बसेका वायुसेवाले आवश्यक उपकरण ल्याउन नसकेको अवस्थामा काबुबाहिरको परिस्थिति वा महामारीले असर पारेको विषय उल्लेख गरेर आवेदन दिनुपर्छ। त्यसपछि मन्त्रालयले स्थितिको मूल्यांकन गरेर मात्रै इजाजत लिएर बसेका वायुसेवालाई तीन वर्ष भित्रमा उडान संचालन गर्न सकिने व्यवस्थासहितको अनुमति दिनेछ।’’
मन्त्रालयले गरेको विशेष व्यवस्थाले अनुमति लिएर जहाज ल्याउने तयारीमा रहेको मुस्ताङ हेलिकप्टर, अन्नपूर्ण हेलिकप्टर र एक अल्ट्रलाइटससहितको नयाँ वायुसेवालाई राहत पुग्ने छ।
यस्तो विशेष व्यवस्था अहिलेको कोभिड-१९ वा भोलि आउन नसक्ने कुनै महामारी वा काबुबाहिरको परिस्थितिमा मात्रै लागू हुन्छ। हाल वायुसेवाले अनुमति पाएको दुई वर्षभित्र वायुसेवा सञ्चालन गरिसक्नुपर्ने व्यवस्था छ। यो व्यवस्था सामान्य अवस्थामा भने अनिवार्य पालना गर्नै पर्छ।
मन्त्रालयले गरेको यस्तो व्यवस्थाले अनुमति लिएर जहाज ल्याउने तयारीमा रहेको मुस्ताङ हेलिकप्टर, अन्नपूर्ण हेलिकप्टर र एक अल्ट्रलाइटससहितको नयाँ वायुसेवालाई राहत पुग्ने भएको छ। यसका साथै सञ्चालनमा रहेको वायुसेवाले जहाज थप गर्न स्वीकृति पाएका तर कोरोना महामारीका कारण जहाजको संख्या बढाउन नसकेको हकमा पनि थप समय पाउने आचार्यले बताए।
मन्त्रालयको यस्तो निर्णयबाट अधिकांश वायुसेवा र सञ्चालनको तयारीमा रहेका वायुसेवालाई राहत मिलेको उल्लेख छ। हाल सञ्चालन प्रमाणपत्र प्राप्त गरी सेवा सञ्चालन शुरू गर्नुपर्ने समयावधि आन्तरिक वायुसेवा, अन्तर्राष्ट्रिय वायुसेवा, फ्लाईङ स्कुल र वायुयान तथा वायुयानका पाटपूर्जा मर्मत सम्भार संस्थालाई दुई वर्ष भित्रको मात्रै छ।
वायुयान मर्मत सम्भार प्रशिक्षण संस्था, मनोरञ्जनात्मक वायुसेवा तथा प्रशिक्षण संस्थालाईलाई भने सेवा सञ्चालन गर्नुपर्ने अवधि एक वर्ष मात्रै छ। यी वायुसेवाले पनि आवेदन दिएपछि मन्त्रालयले उचित मूल्यांकन गरेर थप समय सीमा दिने छ।